गण्डकी

पोखरा आईपुगे संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

इकागज |
कात्तिक १३, २०८० सोमबार १४:५६ बजे

पोखरा - नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आईपुगेका छन् । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत सोमबार दिउँसो पोखराको पुरानो विमानस्थलमा अवतरण गरेका हुन् । 

गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोलीले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा परिसरमा पोखराका विभिन्न संघसंस्थाले बाजागाजासहित मौलिक नृत्यले स्वागत गरेका थिए । विमानस्थलबाट उनी सिधैं लेकसाईडस्थित होटलमा गएका छन् ।


महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी कास्कीमा सुरक्षा व्यवस्था कडा  पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

उनी मंगलबार बिहान अन्नपूर्ण आधार शिविर (एबिसी) का लागि निस्कने छन् । उनी मंगलबार बिहान ६ः३० मा आधार शिविरका लागि प्रस्थान गर्नेछन् । अन्नपूर्ण आधार शिविरमा आवश्यक तयारीका लागि शुक्रबार नै नेपाली सेनाको टोली पुगिसकेको छ ।

महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । आधार शिविरमा यसअघि १ वटा मात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन त्यहाँ थप हेलिप्याड निर्माण गरिएको छ ।

नेपाली सेनाको टोली, छोम्रोङ पर्यटन व्यवस्थापन समितिको टोली, जिल्ला प्रहरी कार्यालय कास्कीको टिमसँगै गाउँपालिकाको टिम व्यवस्थापनका साथै स्वागतको तयारी जुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । 

गाउँपालिकाको तर्फबाट स्थानीय गुरुङ संस्कृति अनुसार स्वागतको तयारी पनि गरिएको छ  । 
आधार शिविरबाट महासचिव गुटेरेस ७ः३० मा पोखरा विमानस्थल फर्किनेछन् । मंगलबार बिहान ८ः१५ बजे पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।


Author

थप समाचार
x