गण्डकी

गण्डकीका कांग्रेस सांसदद्वारा भूकम्प पीडितलाई १५ दिनको तलब सहयोग

इकागज |
कात्तिक २१, २०८० मंगलबार १९:१७ बजे

पोखरा- गण्डकी प्रदेशको नेपाली कांग्रेसका सांसदहरूले जाजरकोट भूकम्प पीडितका लागि १५ दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले भूकम्प प्रभावितको राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग गर्ने निर्णय गरेको दलका सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्तिमार्फत् जानकारी दिए ।

बैठकले कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूको १५ दिन बराबरको तलब रकम भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको हो । बैठकले भूकम्प प्रभावितहरूलाई उचित राहत र व्यवस्थापनका लागि सरकारसँग अनुरोधसमेत गरेको छ ।


यसअघि गत १९ कात्तिकमा गण्डकी प्रदेशसभाका नेकपा (एमाले) का सांसदहरूले १ हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेका थिए । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ र एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो ।


Author

थप समाचार
x