गण्डकी

मौलिक भाकाको संरक्षणमा ७४ वर्ष पार गरेका लालबहादुर

इकागज |
फागुन १६, २०८० बुधबार ९:२३ बजे

बेनी (म्याग्दी)- उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लागेका छन् ।

नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लागेका उनी पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाहरूको संरक्षणमा जुटेका हुन् । उमेरले बुढ्यौली लाग्दै गए पनि आफू भने हराएर जाने अवस्थामा रहेका गीत र संस्कृति संरक्षणको अभियानमा जुटेको पुनले बताए । 


विसं २०७२ मा मगर समुदायको मौलिक भाकाका रूपमा रहेको पुर्ख्यौली गीतको म्युजिक भिडियो तयार गरेका पुनले अहिलेसम्म २० वटा परम्परागत र मौलिक भाकामा तयार गरिएका गीतको म्युजिक भिडियो नै तयार गरिसकेका छन् । पुर्ख्यौली गीतको म्युजिक भिडियोमा बुढ्यौली लागेका पुन आफैँ मादले बनेर नाच्ने गर्छन् ।

गाउँमा मेलाजात्रा, रोधी बस्दा, घाँस दाउरा गर्न जङ्गल जाँदा, खेतबारीमा काम गर्दा र विवाह, व्रतबन्ध, छेवरलगायतका परम्पराजन्य कार्यक्रममा गुञ्जिने मौलिक भाका हराउन थालेपछि आफू संरक्षणमा जुटेको उनको भनाइ छ ।

'मेरो अधिकांश समय पुराना हराएर जाने अवस्थामा पुगेका भाकामा गीत तयार गर्नमा बित्ने गर्छ, गीत तयार भएपछि आफैँ पनि स्वर भर्ने गर्छु, कतिपय अन्य कलाकारलाई समेत स्वर भर्न लगाउँछु र त्यसलाई छायाङ्कन गरेर म्युजिक भिडियोसहित बाहिर ल्याउने गरेको छु', सर्जकसमेत रहेका कलाकार पुनले भने । 

पुनले तयार गरेको पुर्ख्यौली गीत हालै जिल्लाको अन्नपूर्ण –८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल करबाकेलीमा म्युजिक भिडियो छायाङ्कन गरिएको छ । कलाकार पुनले खेली, चुट्के खेली, साइलो भाका, यानिमयालगायतका विभिन्न छवटा गीतमा आफैँ स्वरसमेत दिएका छन् । 

गाउँका परम्परागत मौलिक भाकाका गीत सुनिन छाडेपछि पुनले अभियान नै चलाएर पुराना भाकाहरूको सङ्कलन र गीत लेखन सुरु गरेका थिए । 'गाउँमा बुवाआमाले गाउने भाका कहीँकतै पनि सुन्न पाउने अवस्था छैन, कम्तीमा हामी गीत सुनेकाले यसको संरक्षण गरे भाकाहरू पुस्तान्तरण हुन पाउँछन्, मैले सिर्जना गरेका सबै गीतको लय र ताल पुराना र मौलिक छन्, त्यसैमा मैले शब्द सिर्जना गरेर गीत तयार गर्दै आएको छु', पुनले भने ।

गाउँका रैथाने संस्कृति हराएर जान नदिन आफूले ठेट लय नबिग्रने गरी गीत बनाउने गरेको उनको भनाइ छ । पुनका चारवटा सालैजो, पुर्ख्यौली सोरठी भाकामा रेकर्ड भएका गीतलाई म्युजिक भिडियो बनाउने तयारी गरिएको छ ।

म्याग्दीका विभिन्न गाउँबस्तीमा गाइने रेलिमै, सेदोलगायतका भाकामा समेत गीत बनाउने पुनले तयारी गरेका छन् । उनले मगरहरूको पुख्र्यौली गीतिसङ्ग्रह पुस्तकसमेत प्रकाशन गरेका छन् । यस पुस्तकमा पुर्ख्यौली नाचका विभिन्न ५९  गीत समावेश गरिएको छ । रासस


Author

थप समाचार
x