गण्डकी

पैयूँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी राख्‍ने

इकागज |
चैत ६, २०८० मंगलबार ९:४३ बजे

पर्वत- जिल्लाका केही भागमा बाँदर आतंक बढेपछि दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सात वटै वडामा बाँदरको आतंक बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । 

पैयूँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सात वटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । उनका अनुसार अहिलेलाई यति नै सङ्ख्यामा कर्मचारी नियुक्त गर्ने भन्ने निर्णय नभए पनि न्यूनतम पाँच–पाँच जनाका दरले कर्मचारी राख्ने तयारी भएको छ ।


हरेक वडामा पाँच जनाका दरले ३५ कर्मचारी नियुक्त गर्ने, उनीहरूलाई सेवासुविधा के–कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्नेछ । 

केही वर्षअघिदेखि बाँदर नियन्त्रणका लागि सबै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरिका रुख कटान अभियान थालिएको भए पनि नियन्त्रण हुन नसकेपछि कर्मचारी नै नियुक्त गरेर बाँदर धपाइने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले राससलाई जानकारी दिनुभयो । बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले रु सात लाख विनियोजन गरेको छ । 

तेह्रौँ गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही रु २० लाख अनुदान दिने निर्णय गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैँसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय भएको अध्यक्ष ठकुरीले बताए ।

यसैगरी सरकारले कक्षा ५ सम्म दिने दिवाखाजा कार्यक्रमलाई पैयूँ गाउँपालिकाले कक्षा ६ सम्म विस्तार गर्ने निर्णय गरेको छ भने पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ ।  कक्षा ८ को पालिकास्तरीय परीक्षालाई ‘एसइई’ ढाँचामा सञ्चालन गर्ने निर्णय भएको छ । रासस


Author

थप समाचार
x