गण्डकी

म्यादे गाउँपालिकाले बाढ्यो किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा

इकागज |
जेठ २, २०८१ बुधबार १४:४४ बजे

फाइल फाेटाे

दमौली  - तनहुँको म्याग्दे गाउँपालिकाले सतप्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो । 

गाउँपालिकाका सातवटै वडाका किसानलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखाप्रमुख डा विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको उनको भनाइ छ ।


 डा शाहले भने, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध किसानसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २७ जना किसानलाई भुरा वितरण गरिएको छ ।” उनका अनुसार प्रति रोपनी छ सयका दरले माछाका भुरा वितरण गरिएको हो ।

किसानलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्प जातका भुरा वितरण गरिएको डा शाहले बताए । उनले भने, “म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिका भुरा बाँडेका हौँ । यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ ।” गाउँपालिकाले सङ्घीय सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो । 

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक किसानलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताए । 


Author

थप समाचार
x