गण्डकी

म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो

इकागज |
जेठ ३, २०८१ बिहीबार ११:५२ बजे

गलेश्वर (म्याग्दी)- पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ ।

विसं २०६३ मा ट्र्याक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले दिच्याम र उपल्लो दुखुलाई जोड्छ । मालिका गाउँपालिका–६ दरवाङको आवासीय क्षेत्रसमेत रहेको उपल्लो बजारको बाटो कालोपत्र भएपछि गाउँको सौन्दर्य बढेको छ ।


पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको सडक कालोपत्र गरेको हो ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा रु ६५ लाख बजेट विनियोजन गरेपछि सडक कालोपत्र गरिएको हो । दुई सय ५० मिटर प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय ५० मिटरमा पक्की नाला निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सव इञ्जिनियर रवीन चोखालले बताए ।

यसअघि मालिका गाउँपालिकाले यस सडकका यसअघि नै करिब चार सय मिटर पक्की नाली निर्माण गरेर ढल व्यवस्थापन गरिसकेको छ ।

यसैगरी म्याग्दीमा चालु आवमा १६  किलोमिटर सडक कालोपत्र गर्ने को लागि तयारी भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव २ किलोमिटर सडक कालोपत्र र आरसिसी र पिसिसी ढलान गर्न लागेको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार छ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार, चार किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिए ।

उनका अनुसार सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुलसम्बन्धी नयाँ ७० वटा योजना रहेकोमा ११ वटा आयोजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकोमा चार वटा ठेक्काको मूल्याङ्कन चरणमा  छन् ।

सालबसाली २३ वटा योजनाको ठेक्का र १३ वटा उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सात वटा सालबसाली योजना सम्पन्न भइसकेका छन्भने चार वटा आयोजनाको ठेक्का सम्झौताको तयारी भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ वटा आयोजना चालु रहेका छन् ।

चालु आवमा कूल रु ७१ करोड ३७ लाख बजेट विनियोजन भएको कार्यालयले फागुन मसान्तसम्म रु आठ करोड ९३ लाख ४३ हजार बजेट खर्च गरेको छ । गत आवमा १३ दशमलव २८ किलोमिटर पक्की सडक, सात दशमलव दुई किलोमिटर ग्राभेल, २३ दशमलव दुई किलोमिटर कच्ची सडक निर्माण भएको थियो । रासस


Author

थप समाचार
x