गण्डकी

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

इकागज |
असार २०, २०८१ बिहीबार ८:२३ बजे

दमौली (तनहुँ)- यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि  सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ ।  गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको  थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ सुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिए । 

तीन महिनासम्म दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य बन्द थियो । सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यसपछि आयोगले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो । 


विसं २०७८ फागुन २७ गते तनहुँमा कार्यालय स्थापना भएको थियो । कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ जिल्लाबाटै सुरु गरेको थियो । यसअघि ट्रायलका लागि पोखरा जानुपर्थ्यो ।  कार्यालयले २०७९ सालको साउन १५ गतेदेखि लाइसेन्स नवीकरण पनि सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ । 

विसं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयको रुपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको हो । सेवा कार्यालयको रुपमा रहँदा सवारी साधन कर संकलन, ‘रुटपरमिट’, जाँचपाससम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता, नामसारी सेवा दिँदै आएको छ । 


Author

थप समाचार
x