लुम्बिनी

तिलोत्तमा नगरपालिकाको मेयरमा खाण विजयी

इकागज |
जेठ १३, २०७९ शुक्रबार ६:३७ बजे

बुटवल- रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका खाणले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरले हराएका हुन् ।

खाणले २४३९६ मत ल्याएर विजयी हुँदा चापागाईंले २३६३१ मत ल्याए । खाण नेपाली कांग्रेस रूपन्देहीका सभापति हुन् ।


उपमेयरमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी भइन् । एमाले रूपन्देहीकी उपाध्यक्षसमेत रहेकी चौधरीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी माओवादी कन्द्रका हेमलाल पाण्डेलाई हराइन् । चौधरीले २३८६ मत पाउँदा माओवादी केन्द्रका पाण्डेले ११५४६ मत पाए । 

२०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरे तिलोत्तमाका मेयर निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा पनि रामकृष्ण खाण नगर प्रमुखका उम्मेदवार थिए । तर उनी घिमिरेसँग पराजित भएका थिए ।

तिलोत्तमा कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाण र एमाले नेता घनश्याम भुसालको गृहनगर हो । नगरप्रमुखमा निर्वाचित रामकृष्ण खाण गृहमन्त्री खाणका सहोदर भाइ हुन् । १७ वडा रहेको तिलोत्तमामा एमालेले ८ र नेपाली कांग्रेसले ९ वटा वडा जितेको छ । कुल मतदाता ८५ हजार सात सय ४७ रहेकामा निर्वाचनमा ६३ हजार ५८८ मत खसेको थियो ।


Author

थप समाचार
x