लुम्बिनी

तिलाेत्तमामा उपमेयरले हाकिमलाई 'तँ' भनेपछि तनाव : धकेलाधकेल भएपछि नगरसभा स्थगित [भिडियाे]

जनप्रतिनिधिकाे नारा : 'कांग्रेस मुर्दावाद,कांग्रेसका हाकिम मुर्दावाद, राजीनामा दे'

विक्रम खड्का | अनुज बज्राचार्य |
साउन १, २०७९ आइतबार १७:६ बजे

बुटवल । रूपन्देहीको तिलाेत्तमाकाे चाैथाे नगरसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । ९० सदस्यीय जनप्रतिनिधि रहेकाे सभामा आइतबार ४२ जनाकाे मात्रै हाजिरी भएपछि पुन: स्थगित भएको हाे । बैठक स्थगितपछि एमालेबाट निर्वाचित जनप्रतिनिधि नाराबाजी गरेका छन् ।


अहिले उनीहरूले नाराबाजी र प्रदर्शन गरिरहेका छन् । उपमेयर जागेश्वरी चाैधरीले सभाहल नजिक आफ्ना निकटका जनप्रतिनिधि जम्मा गरेर कांग्रेस मुर्दावाद,कांग्रेसका हाकिम मुर्दावाद, राजीनामा दे लगायतका नारा लगाएका हुन् । उपमेयर चाैधरीले हाकिमलाई तँ नै भनेर गाली नै गरेपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आपत्ति जनाएका छन् । बैठक स्थगित भए लगत्तै नगर प्रमुख रामकृष्ण खांण र प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली कार्यालय जानका लागि निस्किने क्रममा एमालेले घेराबन्दी गरेर नाराबाजी गरेपछि  स्थिति तनावग्रस्त भएको थियो ।

यसअघि असार ३१ गते नगरसभाकाे बजेट पास गर्न बसेकाे बैठकमा उपमेयर चाैधरीका कारण बैठक बस्न २ घण्टा ढिलाई भएकाे र गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हाे । बजेटसभामा एकमात्र एजेन्डा बजेट पास गर्ने भएपनि एमालेले भने उपसमितिकाे पनि एजेन्डासँगै लैजान भनेपछि विवाद चुलिएको हाे । तिलाेत्तमाकाे कार्यपालिकाले गठन गर्ने विभिन्न उपसमितिमा एमालेले बहुमतकाे दम्भ देखाउदै एकलाैटी गर्न खाेजेपछि शुरू देखिनै विवाद उत्पादन भएको हाे तर नगरप्रमुख खांणले भने समितिहरू सहमतिका आधारमा समावेशी र सबैलाई समेटेर बनाउनुपर्ने बताएका छन् । आज स्थगित बैठक भाेलि बस्नेछ ।

 

भिडियाे : अनुज बज्राचार्य


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x