बुटवलका अधिकांश मासु पसलमा अखाद्य वस्तु भेटियो
बुटवल- नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने गरेकाे कालोबजारी तथा गुणस्तरहीन वस्तुहरूको बिक्रीवितरण रोक्न बुटवल उपमहानगरपालिकाले यहाँका विभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ ।
बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न क्षेत्रमा सञ्चालित ११ मासु पसलमा गरिएको अनुगमनमा सरसफाईकाे कमी देखिएकाे छ ।
बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा गरिएको अनुगमनमा ३ वटा मासु पसलमा अखाद्य मासु भेटिएका छन् भने अधिकांशमा बधशालाकाे सरसफाईमा ध्यान नदिएको पाइएको हो । अखाद्य मासु भेटिएका पसलेहरूलाई उपमहानगरमा बोलाइएको छ भने अन्यलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिइएको छ ।
बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देविनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु फेला पारी जफत गरिएको छ । यी मासु पसलबाट २२ किलोभन्दा बढी अखाद्य मासु फेला पारी नष्ट गरिएको बुटवल उपमहानगरका वरिष्ठ अधिकृत ठगिश्वर शर्माले जानकारी दिए । बधशाला तथा मासु पसलमा सरसफाई नभएको भन्दै मापदण्ड अनुसार काम गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।
देविनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडक क्षेत्रका सडकमा बधशाला बनाएको पाइएको छ भने तिनकुनेमा रहेका निमेस मासु पसलको बधशाला निकै फोहोर भएकाे पाइएको छ । यस्तै इँटाभट्टीको माईला मासु पसल, ज्योति माईला मासु पसल र मेहेदी मासु पसल तथा होराइजन चोकको मामा मासु पसल र राजनफ्रेस हाउसमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बोल्दै उपप्रमुख अर्यालले चाडपर्वको समयमा मासुको प्रयोग बढी हुने भएकाले मासु पसलमा अनुगमन गरी स्वच्छ र स्वस्थ्य मासुको प्रत्याभूति गराउने प्रयास गरेको बताइन् । उनले भनिन्, ‘चाडपर्वको समयमा जुन पदार्थको बढी खपत हुन्छ र कालोबजारीको डर हुन्छ त्यही वस्तु तथा पसलमा अनुगमन गरेका छौं । यसले गर्दा बुटवलका बासिन्दाले स्वस्थ्य र कालोबजाररहितका वस्तु उपभोग गर्न पाउनुहुनेछ ।’
मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भएपनि त्यो अनुसार नपाइएको बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झबिन्द्र बन्जाडेले बताए । उनले त्यस्ता सपलहरूलाई थप प्रक्रियाका लागि बुटवल उपमहानगर बोलाइएको जिकिर गरे । मासुलाई उचित तापक्रम मिलाएर राख्न सकिने भएपनि त्यसको ज्ञानको अभावमा फ्रिजमा राख्दा अन्य रोगहरू समेत लाग्ने डर हुने बन्जाडेले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया