सडक विस्तार नसकिँदै आयोजनाको कार्यालय खारेज
बुटवल- सडक विस्तारको काम पूरा नहुँदै बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको कार्यालय खारेज भएको छ ।
बुटवलदेखि बेलहियासम्म ६ लेन सडक विस्तार गर्नेगरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना भएको थियो । तर आयोजनाले अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहिया सम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ भने चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक दुई वर्षदेखि अलपत्र छ ।
त्यस्तै बेलहियाको ७०० मिटर सडक निर्माण पनि अलपत्र छ । सडक निर्माण नसकिँदै आयोजनाको कार्यालय खारेज भएपछि निर्माणको काम अझै अलपत्र पर्ने अवस्था देखिएको छ । आयोजनाको काम डिभिजन सडक कार्यालय बुटवलले हेर्नेगरी कार्यालय खारेज भएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।
चौतर्फी दवावका बीच केही दिन काम गरेको बुटवलको अस्पताल लाइन क्षेत्रमा एकतर्फी बनाएर ठेकेदार सम्पर्कविहीन भएपछि सडक प्रयोगकर्ताहरूलाई सास्ती भएको छ । सबैभन्दा बढी सवारी साधनको चाप हुने लुम्बिनी बस टर्मिनलदेखि ट्राफिक चोकसम्मको करिब ५०० मिटर सडक एकतर्फी बनाएर ठेकेदार हिँडेपछि उक्त क्षेत्र अस्तव्यस्त छ ।
पछिल्लो समय सडक पिच गर्ने भन्दै बुटवल बसपार्कदेखि ट्राफिक चोक पश्चिमतर्फको सडक झण्डै एक महिनादेखि बन्द गरिएको छ । पूर्वतर्फको सडकमा मात्रै दुईतर्फी चल्ने सवारी साधन सञ्चालन हुँदा सडकमा सवारी साधनको चाप हुने कार्यालय समयमा घण्टौंसम्म सवारी साधनको बाक्लो भिड लाग्ने गरेको छ ।
साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरिएको सडकमा ६ वर्षमा बल्ल ३० प्रतिशत मात्रै काम भएको छ । समयमा काम सम्पन्न नहुँदा सडकमा परेका खाडलमा वर्षाको पानी जम्मा भएर सडक झनै अस्तव्यस्त बनेको छ ।
गत असार ३० गते ठेक्का अवधि सकिएको निर्माण कम्पनी द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का अवधि थप गर्न केही दिन निर्माण कार्य अगाडि बढाएजस्तो देखाए पनि अहिले निर्माणको काम ठप्प छ ।
आयोजनाको कार्यालय खारेज भएको पत्र भने अहिलेसम्म नआएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होम एसीले जानकारी दिए । 'खारेज भएको भन्ने सुनेको छु, तर पत्र आइसकेको छै,' उनले भने ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले विगतमा सडकको क्षेत्राधिकार मिचेर बनाएका घर लगायतका संरचना हटाउन खोज्दा सडक क्षेत्राधिकार मिच्नेलाई बोक्दै काठमाडौँ पुगेर राजनीतिक र अदालतको ढोका ढक्ढक्याउने कामको अगुवाइ गरेका थिए । तर अहिले पाण्डेले स्थानीय तहको निर्वाचन लड्दै गर्दा आफू विजयी भए ६ महिनाभित्र सडक निर्माण पूरा गर्ने बताएका थिए । तर अहिले भने उनले सडक विस्तारमा ढिलाइ भएकोमा आफू निकै चिन्तित भएको बताए ।
बुटवल–बेलहिया सडक आयोजनाको जिम्मेवारी सम्हालेका सडक डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख जयलाल मरासिनी सडक क्षेत्राधिकार खाली गर्न अहोरात्र खटिँदा सार्वजनिक रूपमा अपमानित गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया