लुम्बिनी

लुम्बिनीमा मुख्यमन्त्रीसहित पाँच मन्त्रीले पाएनन् टिकट

बिक्रम खड्का |
असोज २५, २०७९ मंगलबार १३:२२ बजे

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित पाँच मन्त्री र तीन राज्यमन्त्रीले यस पटकको निर्वाचनमा टिकट पाएनन् । मुख्यमन्त्री कुलप्रसाद केसीले अघिल्लो पटक रोल्पाबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए । तर यस पटक भने उनलाई टिकटको अवसर मिलेन । सिट बाँडफाँटको क्रममा पाँच दलीय गठबन्धनले रोल्पाको प्रतिनिधि सभा र प्रदेश सभा (क) नेकपा माओवादी केन्द्र तथा प्रदेश सभा (ख) नेपाली कांग्रेसलाई दिएको थियो ।

केन्द्रीय गठबन्धनको भागबण्डाअनुसार पार्टी केन्द्रले प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले टिकट पाएका थिए । प्रदेश सभा (ख) गठबन्धनमा आवद्ध अर्को दल नेपाली कांग्रेसको भागमा परेपछि मुख्यमन्त्री केसी दुवै क्षेत्रको टिकटबाट बन्चित भए ।


नेकपा माओवादी केन्द्रको सचिवालय सदस्यसमेत रहेका केसी २०७४ सालको निर्वाचनमा रोल्पा प्रदेश सभा (क) बाट निर्वाचित भएका थिए । उक्त क्षेत्र यस पटक नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वस्वकीय सचिव जोखबहादुर महरा (प्रताप)ले रोजेपछि मुख्यमन्त्री केसी आफ्नै निर्वाचन क्षेत्र प्रदेश सभा (ख) गएका थिए ।

प्रदेश सभा (ख) नेपाली कांग्रेसलाई दिनेगरी क्षेत्र बाँडफाँट गरेसँगै मुख्य मन्त्री केसीले टिकट पाएनन् । पाँच दलीय गठबन्धनको सहमतिअनुसार सो क्षेत्रबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति पुनले उमेदवारी दिएका छन् । सो क्षेत्रबाट पार्टी त्याग गरेको घोषणा गर्दै माओवादी नेता दीपेन्द्र पुन (सिजल)ले स्वतन्त्ररूपमा उमेदवारी दिएका छन् । 

लुम्बिनी प्रदेशमा टिकट नमाने माओवादी मन्त्रीहरू नै बढी छन् । माओवादीका तर्फबाट अर्थ तथा सहकारी मन्त्री रहेका कृष्णध्वज खड्काले पनि प्यूठानवाट टिकट पाएनन् । उनले अघिल्लो निर्वाचनमा जितेको प्यूठानमा यस पटक गठबन्धन दलको भागबण्डाअनुसार माओवादीले पाएको एक प्रदेश सभा सदस्यको टिकट माओवादीकै कृष्ण अघिकारीले पाए । अर्को प्रदेश सभा सदस्यमा कांग्रैस उमेदवार रोज राणाले निर्वाचन लडे । मन्त्री खड्काले आफूले टिकट नपाए पनि श्रीमती रेखा शर्मालाई दाङ २ बाट प्रतिनिधि सभाको उमेदवार बनाउन सफल भएका छन् । 

त्यस्तै टिकट नपाउने मन्त्रीहरूमध्ये जनता समाजवादी पार्टिका तर्फबाट कृषी मन्त्री रहेकी सुमन शर्मा रायमाझी र श्रम यातायात मन्त्री पुर्मती ढेगा पनि रहेका छन् । उनीहरू दुवै जना अघिल्लो निर्वाचनमा क्रमश बर्दिया र पाल्पाबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनेका थिए । 

त्यस्तै एकीकृत समाजवादीका तर्फबाट लुम्बिनी प्रदेशको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेकी रमा घर्तीलाई पनि यसक पटक टिकट मिलेन । पाल्पाबाट अघिल्लो पटक समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य रहेकी मन्त्री घर्तीले प्रत्यक्ष निर्वाचन लड्न तयार भए पनि गठबन्धनका कारण टिकट नपाएको बताइन् । 

नेपाली कांग्रेसका तर्फबाट सरकारमा रहेका मन्त्रीहरू डिल्ली चौधरी, विरबहादुर राना, बसिउद्धिन खान, सुरेन्द्र हमालले दोहोर्‍याएर आफ्नै क्षेत्रमा टिकट पाएका छन् । कांग्रेसका सबै मन्त्रीहरूले टिकट पाए पनि  सो दलले राज्यमन्त्री रहेका रिना नेपाल र अर्जुन श्रेष्ठलाई टिकट दिएन । माओवादीका तर्फबाट अर्थ तथा सहकारी राज्यमन्त्री रहेकी सुष्मा यादवले पनि दोहोराएर प्रदेश सभा सदस्य हुने वाटो बन्द भएको छ । 

टिकट नपाए पछि मन्त्रीले फेरे दल 
जनता समाजवादी पार्टीकातर्फबाट लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवले टिकट नपाएपछि पार्टी छोडेका छन् । उनले प्रदेश सभा सदस्यको टिकट नपाएपछि  जसपा छोडेर नेपाली कांग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै उनले टिकटसमेत पाए । 

सरकारमा प्रभावशाली मन्त्री तथा संसदीय दलका नेता रहेका यादवले पार्टी छोडेपछि कांग्रेसले उनलाई कपिलवस्तुको क्षेत्र न १ को (ख) बाट टिकट दिएको छ । यादवले अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । 

उता गत निर्वाचनमा हृदेश त्रिपाठीको स्वतन्त्र समूहबाट निर्वाचन जितेका लुम्बिनी प्रदेशका उद्योग मन्त्री अजय शाही प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रिएका छन् ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x