Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

लुम्बिनी

लुम्बिनीमा छिट्टै प्रदेश प्रहरी निर्माण हुने

इकागज |
असोज ३१, २०७९ सोमबार १७:२० बजे

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा छिट्टै प्रदेश प्रहरी निर्माण हुने बताएका छन् ।

लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकाले अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताएका हुन् । बुटवलमा ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताए । मुख्यमन्त्री केसीले नेपाल प्रहरीले नागरिकको सुरक्षामा कर्तव्यनिष्ठ भइ अगाडि बढ्न आग्रह गर्दै जनताको सेवा र अपराध, अनुसन्धानमा लागेर नेपाल र लुम्बिनी प्रदेशमा शान्ति कायम गर्नुपर्नेमा जोड दिए ।


मुख्यमन्त्री केसीले नेपालमा प्रहरी संगठनले जसरी आफ्नो नाम उच्च बनाएको छ त्यसरी नै आगामी दिनमा पनि आफ्नो संगठनको पहिचान र उचाइलाई थप विकास गर्न निर्देशन दिए ।

प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री केसीले अबको संघात्मक व्यवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन निर्माण गरी संघ र प्रदेशलाई शान्ति अमनचयन कायम गरिने बताए । उनले प्रदेश प्रहरीका लागि ऐन पास भएकाले अब प्रदेश सरकार कार्यान्वयनका लागि अघि बढ्ने बताए ।

मुख्यमन्त्री केसीले नेपाल प्रहरीले विगतको आमूल परिवर्तनमा आफ्नो अमूल्य प्राण आहुति दिएको बताउँदै ती नै अमर प्रहरीप्रति श्रद्धाञ्जली समेत व्यक्त गरे । उनले आपत विपतमा पनि नेपाली जनताको साथमा रहेकाले सधैँ प्रहरीलाई जनताले सम्झिने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलक राम शर्माले नेपाल प्रहरीलाई सधैँ जनताको सेवामा लाग्न अपिल गर्दै जनताको सहाराको रूपमा हुनुपर्ने उल्लेख गरे । उनले लुम्बिनी प्रदेशमा प्रहरी ऐन आई सकेकाले त्यसलाई कार्य रूप दिनका लागि सरकार लागिपरेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रहरीका प्रमुख नलप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Author

थप समाचार
x