लुम्बिनी

यी आकांक्षी बन्लान् लुम्बिनीमा अबकाे मुख्यमन्त्री ?

विक्रम खड्का |
कात्तिक ५, २०७९ शनिबार १९:३८ बजे

बुटवल । निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनीमा मुख्यमन्त्री को बन्ला भनेर चासो व्यक्त गर्न थालिएको छ । मुख्य दलका प्रभावशाली नेताहरुको बाहुल्यता रहेकाले पनि भावी मुख्यमन्त्रीलाई चासोपूर्वक हेरिएको छ ।

यसपल्ट कुनै पनि दलले भावी मुख्यमन्त्रीको रुपमा कसैलाई अगाडि सारेका छैनन् । यद्यपि मुख्य दलबाट विभिन्न नेताले मुख्यमन्त्री बन्ने गृहकार्य भने गरिरहेका छन् । लुम्बिनी प्रदेशसभामा ५२ निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले ३३ सिटमा उम्मेदवार उठाएको छ । बाँकी सिट गठबन्धनमा सहभागी माओवादी केन्द्र र लोसपाको भागमा छन् । नेकपा एकीकृत समाजवादीले भने प्रदेशसभामा कुनै सिट पाएको छैन । काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभाको निर्वाचन लड्दै छन् । 


रोल्पा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट उम्मेदवार बनेका उनले काँग्रेस ठूलो दल भए आफू मुख्यमन्त्री बन्नेगरी पार्टीभित्र गृहकार्य गरेको उनीनिकट एक नेताले बताए । लुम्बिनी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा र लोसपाले १÷१ सिटमा मात्र उम्मेदवारी दिएका छन् । 

काँग्रेसबाट मुख्यमन्त्रीका अर्का आकांक्षी विरेन्द्रकुमार कनौडिया कपिलवस्तु ३ को प्रदेशसभा २ बाट चुनाव लड्दै छन् । उनी यसअघि प्रदेशमा कांग्रेस संसदीय दलका नेता थिए । एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पार्न माओवादीसँग ८÷८ महिना सरकार चलाउने सहमति गर्दा पनि कानोडिया मुख्यमन्त्री बन्ने गरी सहमति भएको थियो । तर, पछि माओवादीले नछोडेपछि उनी मुख्यमन्त्री बन्न पाएनन् । लुम्बिनी प्रदेशका पूर्वमन्त्री डिल्ली चौधरी, रुपन्देहीका पूर्व सभापति अब्दुल रज्जाक, विर वहादुर राना पनि मुख्यमन्त्रीको दौडमा छन् । चौधरी दाङ ३ (क) बाट, रज्जाक रुपन्देहीको निर्वाचन क्षेत्र १ (ख) बाट र राना पाल्पा २ (क) बाट प्रतिष्पर्धामा छन् । 

गठबन्धनबाट भागवण्डामा १७ सिटमा खुम्चिएको माओवादी केन्द्रमा पनि विभिन्न नेता मुख्यमन्त्रीका आकांक्षी छन् । जोखबहादुर महरा र सुदर्शन बराल माओवादी केन्द्रबाट मुख्यमन्त्रीका बलिया दाबेदार हुन् । माओवादी केन्द्रले यसका लागि चुनावपछि कि त काँग्रेससँगको गठबन्धन जारी राखेर उसलाई मनाउनुपर्छ, नभए एमालेसँग तालमेल गरी मुख्यमन्त्री बन्नुपर्ने हुन्छ । माओवादीका नेता आफ्नै बलबुतामा मुख्यमन्त्री बन्न भने असम्भव जस्तै देखिएको छ । जोखबहादुर महरा यसअघि अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा बसेर काम गरेका थिए । उनी अहिले रोल्पाको क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार छन् । यसअघि सोही क्षेत्रबाट कुलप्रसाद केसीले चुनाव जितेका थिए । केसी अहिले मुख्यमन्त्री छन् भने प्रदेशसभाको टिकट पाएनन् ।

शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक मन्त्री भएर काम गरेका सुदर्शन बराल मुख्यमन्त्रीका बलिया दाबेदार रहेको माओवादी नेताहरु बताउँछन् । उनी गुल्मी क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभाम उम्मेदवार बनेका छन् । माओवादीले मुख्यमन्त्री पाउने सम्भावना देखिएको अवस्थामा उनलाई अघि सार्ने सम्भावना छ । बराल माओवादी नेता वर्षमान पुन निकट मानिन्छन् । प्रदेश योजना आयोगमा उपाध्यक्ष रहिसकेका बामदेव क्षेत्र मुख्यमन्त्री बन्ने आकांक्षासहित रुपन्देही क्षेत्र नम्बर २ (ख) बाट चुनाव लड्दै छन् । 

उता, यसअघिको निर्वाचनमा लुम्बिनी प्रदेशमा पहिलो दल बनेको एमालेले प्रदेशका ५२ मध्ये ४७ क्षेत्रमा उम्मेदवारी दिएको छ । उसले जसपा र राप्रपासँग तालमेल गरी प्रदेशमा बहुमत ल्याउने कसरतमा जुटेको छ । एमालेबाट चारजना नेता मुख्यमन्त्रीका बलिया दावेदार देखिएका छन् ।

एमालेका पोलिटब्यूरो सदस्यद्वय लिला गिरी र दधिराम न्यौपाने प्रदेशसभामै निर्वाचन लड्दै छन् । दुवै नेता मुख्यमन्त्रीका बलिया दावेदार हुन् । गिरी रुपन्देही क्षेत्र नम्बर २ (क) बाट चुनाव लड्दै छन् भने न्यौपाने क्षेत्र नम्बर १ (ख) बाट प्रतिष्पर्धामा छन् । त्यस्तै एमालेबाट रुपन्देहीको क्षेत्र नम्बर २ (ख) बाट निर्वाचन लडेका भोजप्रसाद श्रेष्ठ पनि मुख्यमन्त्रीका आकांक्षी छन् । उनी पार्टीका प्रदेश उपाध्यक्ष छन् ।

त्यस्तै एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे पनि मुख्यमन्त्रीको आकांक्षा सहित दाङको ३ (क) बाट चुनावी दौडमा होमिएका छन् । एमालेका अर्का केन्द्रीय सदस्य भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीको आकांक्षी छन् । उनी यसअघि प्रदेशसभाको प्रमुख सचेतक थिए । उनी रूपन्देहीको ५ (क) बाट उम्मेदवार छन् । यस्तै रुपन्देही १ को ख वाट चुनाव लडेका दधिराम न्यौपाने पनि मुख्यमन्त्रीको आकांक्षीका रुपमा रहेका छन् । 
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x