दाङमा १२ मतदानस्थल अति संवेदनशील
देउखुरी- अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब आठ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा तीन प्रदेश र छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक सय ५३ मतदानस्थल र सय मतदान केन्द्र छन् ।
निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लाका सबै मतदान केन्द्रमा चार हजार बढी सुरक्षाकर्मी र तीन हजार सात सय २० कर्मचारी खटिन लागेको बताए । मतदान अधिकृतदेखि सहायकस्तरका कर्मचारी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटिने छन् । दाङमा चार हजार सुरक्षाकर्मीमध्ये एक हजार नौ सय २० म्यादी प्रहरी परिचालन हुँदैछन् ।
सुरक्षा संवेदनशीलतालाई हेरेर मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिने छन् । दाङका एक सय ५३ मतदान स्थलमध्ये १२ मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । जिल्लाको ग्रामीण बस्तीमा रहेका मतदानस्थल सुरक्षाका रूपमा अति संवेदनशील पहिचान गरिएको छ । बबई गाउँपालिका, राप्ती गाउँपालिकामा बङ्गलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अति संवेदनशील मानिएको उनले बताए । अति संवेदनशील मतदान केन्द्रमा तीन प्रहरी र नौ म्यादी प्रहरी, संवेदनशील मतदान केन्द्रमा तीन प्रहरी र छ म्यादी प्रहरी यस्तै सामान्य मतदान केन्द्रमा तीन प्रहरी र पाँच म्यादी प्रहरी परिचालन हुने रेग्मीले बताए ।
जिल्लाको एक सय ३० संवेदनशील र ११ वटा मतदानस्थल सामान्य रहेको रेग्मीले जानकारी दिए । उनले अति संवेदनशीलमा राखिएको भए पनि सोहीअनुसार सुरक्षाकर्मी खटिने र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण भएको जानकारी दिए ।
जिल्लामा चार सय ६५ मतदान केन्द्रमा चार सय ६५ जना मतदान अधिकृत र चार सय ६५ सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइने प्रदेश निर्वाचन कार्यालय प्रमुख निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । अन्य सहायकस्तरका कर्मचारी र स्वयंसेवक समेतलाई जिम्मेवारी दिइने उनको भनाइ छ । उनका अनुसार निर्वाचनमा तीन हजार दुई सय कर्मचारी र अपुग हुने स्थानमा शिक्षकलाई मतदान केन्द्रमा खटाउने तयारी भएको छ ।
जिल्लामा सबैलाई मतदान गर्ने वातावरण मिलोस् भनेर कारागारका कैदीबन्दी, सरकारी कर्मचारीलाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरी निर्वाचनमा सहभागी गराइने भएको उनले जानकारी दिए । उनीहरूका लागि तीन स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण गरिने भएको छ । जिल्लाको घोराही र तुलसीपुर कारागारका कैदीबन्दीलाई कारागार परिसरमै तथा जिल्लामा कार्यरत निर्वाचनमा खटिनेबाहेक सरकारी कर्मचारी एवं बाहिर जिल्लाबाट आएकालाई घोराहीमा अस्थायी मतदान केन्द्र तोकेर निर्वाचनमा सहभागी गराइने भएको हो ।
दाङमा एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । मङ्सिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा भाग लिन मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको सङ्ख्या चार लाख १४ हजार नौ सय ५६ जना रहेको छ । तीमध्ये दुई लाख तीन हजार नौ सय आठ पुरुष, दुई लाख ११ हजार ४६ महिला र अन्य दुई जना मतदाता रहेको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया