लुम्बिनी

नवलपरासी–बर्दाघाट सुस्ता पश्चिम–१

अर्बपति चौधरीलाई संसदीय राजनीतिका खेलाडी हृदयेशको चुनौती

बिक्रम खड्का |
कात्तिक १५, २०७९ मंगलबार १८:२६ बजे

बुटवल– अर्बपति विनोद चौधरी र संसदीय राजनीतिका खेलाडी हृदयेश त्रिपाठी लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी भिडेपछि चुनावी माहौल चुलिएको छ ।

चौधरी, एसअघि पहिलो एमाले र दोस्रो चोटि कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । चौधरी पहिलो चोटी प्रत्यक्ष चुनावी मैदानमा उत्रिएपछि २०४८ यता पटक–पटक चुनाव जित्दै आएका राजनीतिक खेलाडी त्रिपाठीलाई निकै चर्को परेको छ । कहिले मधेशवादी दल त कहिले स्वतन्त्र समूह बनाएर राजनीतिक विरासत कायम राख्दै आएका त्रिपाठीलाई अर्वपतिसँगको भिडन्त सजिलो देखिएको छैन । चौधरी कांग्रेस उम्मेदवार हुन् । कांग्रेसभित्रको आन्तरिक गुटगत विवाद कायम रहेकाले चौधरी पनि सकसमै छन् ।


जनता प्रगतिशील पार्टी (जप्रपा)का अध्यक्ष त्रिपाठी एमालेको समर्थनसहित चुनावी मैदानमा छन् । अघिल्लो चोटि सूर्य चिन्हबाटै विजयी बनेका त्रिपाठीसँग यसपालि फरक चिन्हमा छन् । उनी कोदालो बोकेको किसान चुनाव चिन्हसहित मैदानमा छन् ।

यतिखेर दुवै उम्मेदवार गाउँ–गाउँमा मतदाताका मन जित्न घर–दैलो अभियानमा छन् । दुवै जना विकास र समृद्धिका लागि निर्वाचनमा होमिएको भन्दै सर्वसाधारणको गुनासो सुन्ने र चिनजान गर्ने अभियानमा छन् । 

सर्वसाधारणसँगै देउसी–भैलो खेल्नेदेखि क्रिकेट खेल्ने, मतदाताको घरमा गएर खाना खाने र चुनावी प्रचार गर्ने गरिरहेका छन् । त्रिपाठी यस क्षेत्रका पुराना नेता भएको र पाँच पटकसम्म यही निर्वाचन क्षेत्रबाट चुनाव जितेकाले एकपटक पुनः जिताउन र अधुरा काम पूरा गर्ने वाचासहित घरदैलोमा पुगिरहेका छन् ।

उनले २०७० सालको संविधानसभा निर्वाचनबाहेक त्रिपाठीले यो क्षेत्रबाट ५ पटकसम्म चुनाव जितिसकेका छन् । कुनै न कुनै दलसँगको सहकार्य र चुनावी तालमेल गरेर फेरि पनि चुनाव जित्ने दाउमा त्रिपाठी छन् । उता गठबन्धनबाट पहिलोपल्ट प्रत्यक्ष चुनाव लडेका चौधरी जसरी पनि चुनाव आफ्नो पक्षमा पार्न मतदाता कहाँ धाइरहेका छन् । उनी आफ्नो पाँच वर्षको एजेन्डा प्रस्तुत गर्ने गरिरहेका छन् ।

त्रिपाठीले आफ्ना प्रतिस्पर्धी चौधरीलाई धनाढ्य र राजनीतिज्ञबीचको लडाइँ भएको भन्दै असन्तुष्ट कांग्रेसको मन जित्ने कोसिस गरेका छन् । उता चौधरीले कृषि तथा भौतिक पूर्वाधार र रोजगारीको मुख्य एजेन्डासहित गएका छन् ।

‘यो प्रतिस्पर्धा एक राजनीतिज्ञ र धनाढ्य उद्योगपतिबीचको प्रतिस्पर्धा हो । मैले यसरी लिएको छु । हामी राजनीति गर्नेलाई हार–जितको भन्दा पनि निष्ठा र राजनीतिक जीवनको एक अध्याय हो भन्ने लाग्छ’, त्रिपाठीले भने, ‘मलाई सँधैभरि यसै क्षेत्रका मतदाताले मलाई विश्वास गरेका छन् । यसपटक पनि मलाई विश्वास गर्छन् भन्ने आशा लिएको छु ।’

यसअघि एमाले र माओवादी केन्द्रको पार्टी एकता हुँदा सूर्य चुनाव चिह्न लिएर चुनाव लडेका त्रिपाठीले कांग्रेसका पुराना नेता देवकरण कलवारलाई पराजित गरेका थिए । त्रिपाठीले ५ हजार १ मतान्तरले जितेका थिए ।

त्रिपाठीसँग पराजित कलवार प्रदेशसभामा चुनावी प्रतिस्पर्धामा छन् । त्रिपाठीका विश्वासपात्र लुम्बिनी प्रदेशका पूर्वमन्त्री अजय शाही र स्थानीय निर्वाचनमा जनता प्रगतिशील पार्टीका तर्फबाट प्रतापपुर गाउँपालिकाका प्रमुख पदका उम्मेदवार करम हुसेनले पार्टी परित्याग गरेका छन् । त्यसले त्रिपाठीलाई केही असहज हुने जानकार बताउँछन् ।

शाही त चुनाव चिन्ह माछो लिएर प्रतिनिधि सभामै उम्मेदवार बनेका छन् ।  यता चौधरीलाई गठबन्धनका साझा उम्मेदवार र उद्योगीको रुपमा सफल नेतृत्व गरेकाले जनताले केही आशा गरे पनि पार्टीभित्रको आन्तरिक किचलो र २०४८ सालदेखि कांग्रेसले एकपटक मात्र चुनाव जितेको क्षेत्र भएकाले चुनौति देखिन्छ । ‘म काम गरेर देखाउने र आफूले दिएका आश्वासन पूरा गर्ने मानिस हुँ । म यस क्षेत्रका जनताको समस्या र यो क्षेत्रको विकासको सम्भावनाबारे अध्ययन गरिरहेको छु’, उम्मेदवार चौधरीले भने, ‘म पहिलोपटक प्रत्यक्ष चुनाव लडेको भए पनि जनताले मबाट उद्योग क्षेत्रको जस्तै विकास र सुशासनको भएको हेर्न चाहेको मैले महसूस गरेको छ । आशा छ मलाई यस क्षेत्रका जनताले अनुमोदन गर्नेछन् ।’

नवलपरासी जिल्लाको अन्य क्षेत्रको चुनावी अंक गणितबारे अनेकन आँकलन र टिप्पणी भइरहे पनि चौधरी र त्रिपाठीको निर्वाचन क्षेत्रको चुनावी अंक गणित आँकलन गर्न कठिन छ ।

कांग्रेसका उम्मेदवार चौधरीलाई कांग्रेसभित्रकै असन्तुष्ट नेता मनाउन कठिन देखिएको छ भने त्रिपाठीलाई समर्थक एमालेका नेता कार्यकर्तालाई मनाउन हम्मे हम्मे छ । 

एमालेसँग तालमेलमा सूर्य चिन्हबाट उठ्न आग्रह गर्दा त्रिपाठीले मानेका थिएनन् । जसले एमालेजन र त्रिपाठीबीच केही खटपट नै देखिएको थियो । उम्मेदवारी दर्ताको दिन त्रिपाठीले आफ्नै दल जप्रपाको चुनाव चिन्ह ‘कोदाली बोकेको किसान’सहित उम्मेदवारी दर्ता गरेपछि एमालेले पनि आफ्नो उम्मेदवार उठायो । तर केन्द्रीय नेतासँग वार्तापछि एमालेले उम्मेदवारी फिर्ता लिएर त्रिपाठीलाई सघाउने निर्णय गरे पनि त्यतिबेला फाटेको सम्बन्ध अझै सुमधुर भएको छैन । 

त्यसो त, चौधरीले जिल्लाका नेतालाई बाइपास गर्दै पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको बलमा टिकट ल्याएको आरोपसँगै कांग्रेसभित्र पनि असन्तुष्टि छ । पहिलो पटक प्रत्यक्षतर्फको चुनावी अनुभव बटुल्दै मैदानमा उत्रिएका चौधरीलाई सदावहार जित हासिल गरेका त्रिपाठी ठूलो चुनौती हुन् । गएको स्थानीय तह निर्वाचनको मत परिणामअनुसार त्रिपाठीको दलको उपस्थिति न्यून छ । तर एमालेसँगको तालमेलले त्रिपाठीले सत्ता गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नेछन् । 

स्थानीय तह निर्वाचनको मतअनुसार यो निर्वाचन क्षेत्रमा जप्रपाको ४ हजार ६८१ र एमालेको २६ हजार ७७९ मत देखिन्छ । जसपाको मत ३ हजार ५ सय ३९ मत छ । तीन दलको मत जोड्दा त्रिपाठीको पक्षमा ३४ हजार ९९९ पुग्छ । 

नेपाली कांग्रेसले पाएको मत ३० हजार ३४२ छ । गठबन्धनको घटक एकीकृत समाजवादीको १ हजार १४१ र राष्ट्रिय जनमोर्चाको २६० गरी चौधरीको पक्षमा कुल ३१ हजार ७४१ मत छ । सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्र सहमतिविपरीत कांग्रेसले प्रदेशसभामा उम्मेदवारी दिएको भन्दै असन्तुष्ट थियो । तर असन्तुष्ट माओवादीलाई मिलाए उनीहरुको उम्मेदवार फिर्ता गर्न चौधरी सफल भएका छन् । स्थानीय तहमा माओवादी केन्द्रले पाएको कुल ५ हजार ३३९ मत चौधरीले पाउने दावी छ । माओवादीको मत पनि कांग्रेसतिरै जोड्दा त्रिपाठीभन्दा चौधरी २ हजार ९३ मतले अघि देखिन्छन् ।

त्यसो त, २०७४ को चुनावलाई फर्केर हेर्दा सूर्य चिन्हबाट चुनाव लड्दा त्रिपाठीले नेपाली कांग्रेसलाई ५ हजार १ मतले पराजित गर्दै विजयी भएका थिए । त्यसैले पनि त्रिपाठी र चौधरीको प्रतिस्पर्धालाई मतदाताले समेत कसको पल्लाभारी कता भन्ने सहज आँकलन गर्न सकेका छैनन् ।
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x