Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

लुम्बिनी

लुम्बिनीमा नि:शुल्क बिजुली बस, एक महिनामा २० हजार यात्रुले लिए सेवा

इकागज |
कात्तिक १५, २०७९ मंगलबार २०:५१ बजे

बुटवल- लुम्बिनी विकास कोषद्वारा दसैँको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो ।

दसैँ, तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनका अनुसार असोज १३ देखि कार्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले नि:शुल्क धम्म यात्रा नामक बिजुली बसको सेवा लिएका छन् ।


६ वटा रुटमा ५ वटा बस मार्फत ५ सय २७ ट्रिप बस सञ्चालन हुँदा १६ हजार ३ सय ८४ किमी दूरी यात्रा गरेको कोषले जनाएको छ । यान्त्रिक परीक्षण इकाई समितिका अनुसार सबैभन्दा बढी लुम्बिनी बेलहिया रुटमा सबैभन्दा बढी १ सय ६० ट्रिप बस चल्दा ५ हजार ७ सय ८३ जना यात्रुले नि:शुल्क बिजुली बसको सेवा लिएका छन् ।

लुम्बिनी तिलौराकोट रुटमा १३१ ट्रिप बस चल्दा ५ हजार ७२, लुम्बिनी रामग्राम रुटमा ४८ ट्रिप बस चल्दा २ हजार २ सय ७०, लुम्बिनी बुटवलमा ४६ ट्रिप बस चल्दा एक हजार ३ सय ४६ जनाले सेवा लिएको संयोजक पौडेलले बताए ।

त्यसै गरि लुम्बिनी देवदह रुटमा ५६ ट्रिप हुँदा २ हजार ८ सय १४ जना र लुम्बिनी वरपर र रामापुरसम्म ६८ ट्रिप बस चल्दा २ हजार ५ सय ७३ जनाले धम्म यात्राको सेवा लिएको कोषले जनाएको छ । लुम्बिनीमा सञ्चालित सटल बस सुरुको चरणमा ५ दिन मात्रै सञ्चालन भएको थियो । सुरुमा यान्त्रिक परीक्षण १५ दिन सञ्चालन गर्ने भनिए पनि कोषको सचिवालय बैठकले १५ दिन थप गरी छठसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले कोषले बसलाई व्यावसायिक रूपमा सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइने बताए । एक महिनासम्म यान्त्रिक परीक्षण गर्दा प्राविधिक रूपमा बस तयार भएको निष्कर्ष निकालिएको तर, सञ्चालनका लागि आवश्यक विधि र बसलाई हरियो नम्बर प्लेटमा ल्याउने काम प्रक्रियामा रहेकाले छिट्टै सञ्चालन गरिने कोषाध्यक्ष भट्टराईले बताए ।


Author

थप समाचार
x