राप्ती तटीय क्षेत्रका बासिन्दा भन्छन् :
डुबान र कटान समाधान गर्नेलाई भोट
राँझा- बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दाले डुबान र कटान समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् ।
बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका उनीहरूले भोट माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन माग गर्दै आएका छन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि भोट माग्न गाउँबस्ती पुग्ने राजनीतिक दलका उम्मेदवारबाट चुनावको बेला आश्वासन पाउने गरे पनि समस्या समाधान नभएको उनीहरूको गुनासो छ । 'बर्सेनि हुने डुबान र कटानको समस्या समाधानका लागि काम गर्न सक्नेलाई भोट दिने विचार गरेका छौँ,' डुडुवा गाउँपालिका–१ होलिया निवासी राजकुमार शुक्लाले भने, 'हामी राप्ती नदीबाट हुने डुबान र कटानबाट धेरै पीडित छौँ तर अहिलेसम्म सरकारले समस्याको समाधानका लागि पहल गरेको छैन ।'
लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिवसमेत रहेका शुक्लाले अहिले चुनावको बेला घर-घरमा आएर भोट मागे पनि चुनाव जितेपछि सांसदहरू फर्केर गाउँ नजाने गरेको गुनासो गरे ।
बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा बर्सेनि बाढी र डुबानको पीडा झेल्दै आएका छन् ।
लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिव शुक्लाका अनुसार बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँ क्षेत्रका झन्डै पाँच हजार घरधुरीका करिब २४ हजार नागरिक बाढीबाट प्रभावित हुने गरेका छन् ।
निर्वाचनमा सबैजसो दलले आफ्नो प्रतिबद्धता पत्रमा राप्ती तटीय क्षेत्रमा हुँदै आएको डुबान तथा कटान नियन्त्रण गर्ने उल्लेख गरेका छन् । तर, कार्यान्वयनमा भने चुनौती देखिँदै आएको छ ।
राप्ती नदी र डुडुवा खोलाले डुडुवा गाउँपालिकाका विभिन्न वडामा खेतीयोग्य जमिन कटान र बस्ती बर्सेनि डुबान हुने समस्याको दिगो समाधान गर्ने गरी आफूले योजना बनाएको बाँके क्षेत्र नं १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले बताए । उनले थोरै बजेटबाट तटबन्ध कार्य सम्भव नहुने भएकाले प्रदेश र केन्द्रीय सरकारसँग समन्वयका आधारमा काम गर्न सके डुबान र कटानबाट हुने क्षति न्यून गर्न सकिने दाबी गरे ।
सत्तारूढ गठबन्धनबाट बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेदवार माओवादी केन्द्रका नेता एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले जनतालाई डुबान र कटानको समस्याबाट जोगाउन तटबन्ध गरिने प्रतिबद्धता जनाएका छन् । राप्ती नदीमा आउने बाढीका कारण राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दासमेत पीडित हुँदै आएका छन् ।
राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका लालबहादुर थापाले बितेको ५ वर्षमा यो क्षेत्रबाट जितेका जनप्रतिनिधिले बाढीपीडितको समस्या समाधानका लागि काम गर्न नसकेकाले यो निर्वाचनमा जनताको काम गर्ने व्यक्तिलाई मतदान गर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया