Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

लुम्बिनी

रुपन्देही-२ मा एमालेले सार्वजनिक गर्‍याे चुनावी प्रतिबद्धतापत्र

इकागज |
कात्तिक २०, २०७९ आइतबार १४:५९ बजे

बुटवल- रुपन्देही-२ मा नेकपा एमालेले आफ्नो चुनावी प्रतिबद्धतापत्र आइतबार बुटवलमा सार्वजनिक गरेको छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवल-गोरुसिङ्गे सडकलाई ६ लेनमा स्तरोन्नती गर्ने बताए । रुपन्देही-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पौडेलले ठूला तथा महत्वाकांक्षी योजनाहरू समेटिएको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।


विभिन्न १४ वटा क्षेत्रलाई समेटेर तयार पारिएको २५ पृष्ठको प्रतिबद्धतापत्रमा कालिगणडकी-तिनाउ डाइभर्सन, तिनाउ-दानव नदी कोरिडोर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन निर्माण, बुटवलमा मेडिकल कलेज स्थापना लगायतका योजनाहरूलाई समेटिएको छ ।

एमाले उपाध्यक्ष पौडेलले तिनाउ- दानव करिडोर क्षेत्रमा पर्ने बासिन्दाहरूलाई व्यवस्थित र सुविधा सम्पन्न क्षेत्रमा स्थानान्तर गरेर मात्रै योजना अघि बढाइने बताएका छन् । यसैगरी ज्योतिनगर पहिरो लगायतका चुरे संरक्षण तथा बस्ती सुरक्षाका लागि केन्द्रीय नीति बनाएर अघि बढ्ने उल्लेख गरे ।

प्रतिबद्धतापत्रमा एकीकृत विकास र रूपान्तरणकारी पूर्वाधारसहितको बृहत् लुम्बिनी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, आवास तथा भूमि व्यवस्था, युवा उद्यमशीलता, श्रम तथा रोजगारी, पर्यटन, कला र संस्कृति, कृषि र सिँचाइ, सडक, खानेपानी, विद्युत् तथा आधारभूत पूर्वाधार, युवा तथा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित एवं उत्पीडित वर्ग र सामाजिक सुरक्षा, सूचना, प्रविधि र सञ्चार, सुशासन र सेवा प्रवाहजस्ता विषयमा विषयगत प्रतिबद्धता रहेका छन् ।


Author

थप समाचार
x