Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

लुम्बिनी

बाँके–१ : युवा प्रतिष्पर्धीलाई कस्तो खेल खेलेर हराउलान् खेलकुद मन्त्रीले

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार २०:४५ बजे

राँझा- बाँके निर्वाचन क्षेत्र नं १ मा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग नयाँ उम्मेदवार प्रतिस्पर्धामा छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मन्त्री गहतराजसँग नेकपा (एमाले)का उम्मेदवार युवा नेता सूर्य ढकालले चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि विसं २०७४ को निर्वाचनमा गहतराजलाई जिताउन खटिएका एमाले केन्द्रीय सदस्य ढकाल अहिले राप्रपासँगको चुनावी तालमेलमा गहतराजलाई चुनौती दिदैछन् । बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गहतराज दोस्रोपटक यस क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने एमाले नेता ढकालले पहिलोपटक जनताको माझ मत माग्दै छन् । ढकाललाई राप्रपासहितका गठबन्धनको समर्थन छ । बाँके क्षेत्र नं १ का जनताले परिवर्तन चाहेकाले यसपटक आफू जितको नजिक रहेको उम्मेदवार ढकालको दाबी छ ।    
    
'कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा मैले राजनीतिको धेरै समय र पसिना बगाएको छु, प्रत्येक टोल, बस्ती र घर–घरमा पुगेको छु, त्यसैले म बलियो र विजय नजिक छु,' उनले भने ।    
    
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका युवा तथा खेलकुदमन्त्री गहतराज भने विगतमा गरेको कामका आधारमा यस क्षेत्रका जनताले पुनः आफूलाई नै निर्वाचित गर्ने दाबी गर्छन् । गठबन्धन दलको साझा उम्मेदवार भएकाले पनि आफू विजयी हुने उनको भनाइ छ ।    
    
यो निर्वाचन क्षेत्रमा पर्ने कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको छ भने नरैनापुरमा जनता समाजवादी पार्टी निर्वाचित भएको छ । यी दुई स्थानीय तहका नौ वडामा एमालेले जित हासिल गरेको छ । नागरिकले व्यक्तिमात्रै होइन, पटक–पटक पार्टीसमेत नयाँ र फरक खोज्दै आएको नागरिक अगुवा डिलबहादुर परियार बताउँछन् ।    
    
यो क्षेत्रमा विगतमा विसं २०४८ मा कांग्रेसबाट सैयदमेराज अहमद शाह, २०५१ र २०५४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी, २०५६ मा कांग्रेसबाट ज्ञानु केसी, विसं २०६४ मा नेकपा माओवादीबाट तिलक परियार, २०७० मा एमालेबाट देवराज भार र २०७४ मा एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का महेश्वरजङ्ग गहतराज निर्वाचित भइसकेका छन् ।    
    
यसैगरी बाँके निर्वाचन क्षेत्र नं १ (१) प्रदेशमा सत्ता गठबन्धनकी उम्मेदवार कृष्णा केसी नमूनासँगै राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीका अमर खड्का प्रतिस्पर्धामा हुन् । तीनै जना उम्मेदवारले आफूले निर्वाचन जित्ने दाबीका साथ मतदाताको घरदैलोमा पुगेका छन् । प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट कांग्रेसका फुलाराम थारू र एमालेका दुर्गा थारूबीच चुनावी प्रतिस्पर्धा रहेको छ । उनीहरू दुवै जना पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेका छन् । रासस



Author

थप समाचार
x