माओवादी लुम्बिनीका अध्यक्ष बरालले दिए राजीनामा
काठमाडौँ- नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै प्रदेश अध्यक्ष बरालले राजीनामा दिएका हुन् ।
प्रदेश सभा समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकिएको, प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको सिट बाँडफाँट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकिएको र उम्मेदवार मनोनयन दर्ता भइसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई समयमा सम्बोधन गर्न नसकिएको उनले बताएका छन् ।
उनले विविध कारणले यस लुम्बिनीमा पार्टीको विगत परिणामलाई कायम राख्नसमेत नसकिएको र आफै उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकिएको उनले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रेस वक्तव्य
प्रतिनिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ भर्खरै सम्पन्न भएको छ । यस निर्वाचनमा सहभागीका लागि प्रदेशवासी मतदातालाई धन्यवाद ज्ञापन गर्दछु । प्रदेशमा गठबन्धनको तर्फबाट विविध कमी कमजोरीका वावजुद सामान्यतः सफलता प्राप्त गरेको छ । त्यसका लागि गठवन्धनका नेता कार्यकर्ताहरू सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।
विभिन्न समस्याका बाबजुद विजयी हाम्रो पार्टीका प्रतिनिधि सभा र प्रदेश सभाका विजयी उम्मेदवारहरूलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
हाम्रो पार्टीका लाखौं मतदाताहरूको इच्छा र प्रयत्नका बाबजुद हाम्रो प्रदेशमा मुल रुपमा निम्न समस्याहरू रहे :
- मुलतः प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सुचि तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न सकिएन ।
- प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सीट वांडफाड र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस वमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न सकिएन ।
- उम्मेद्वार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्वोधन गर्न सकिएन ।
यी उल्लेखित कारणसहित विविध कारणले यस प्रदेशमा पार्टीको विगत परिणामलाई कायम राख्नसमेत सकिएन र म स्वयंम उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन सकिएन । अतः प्रदेश अध्यक्षको हैषियतले उक्त सबै परिणामको नैतिक जिम्मेवारी लिई आजैका मितिबाट अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु । अध्यक्ष पदमा नरहेर पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरूको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गर्दछु ।
क्रान्तिकारी अभिवादनसहित ।
१० मंसिर २०७९ ।
सुदर्शन बराल
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया