लुम्बिनी

छाडा चौपायाको दिगो व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी

इकागज |
भदौ ९, २०८० शनिबार २१:१४ बजे

फाइल तस्बिर

कृष्णनगर (कपिलवस्तु)- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छाडा चौपाया दिगो व्यवस्थापन गरिने बताएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आयोजित छाडा चौपाया व्यवस्थापनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा प्रदेशमा छाडा चौपाया व्यवस्थापनका लागि विकास समिति बनाइन समेत मुख्यमन्त्री चौधरीले जानकारी दिए । 

उनले लुम्बिनी प्रदेशस्तरीय विकास समितिमा लुम्बिनी प्रदेशका एक सय नौवटै पालिकाका प्रमुखलाई सदस्य बनाई चौपायाको दिगो व्यवस्थापन गरिने बताए । अहिले छाडा गाई सबैभन्दा बढी समस्या भएको हुँदा गाईलाई उत्पादनसँग जोडेर अघि बढ्ने गरी योजना बनाइने पनि उनको भनाइ छ । 'छाडा चौपाया व्यवस्थापनका लागि एक विज्ञ समूह बनाई यही महिनाभित्रै व्यवस्थापन सुरु गरिनेछ,' उनले भने । 


प्रदेशसभा सदस्य तथा पूर्वस्वस्थ्यमन्त्री विष्णु पन्थीले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै योजनाका साथ काम गर्ने बताए । जिल्लामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेकाले यस विषयमा लुम्बिनी प्रदेश सरकार गम्भीरका साथ लाग्ने पनि उनले स्पष्ट पारे । 

अन्तरक्रिया व्यवस्थापन गरेको बुद्धभूमि नगरपालिका नगरप्रमुख केशवकुमार श्रेष्ठले पशु चौपायाले धानबाली सखाप बनाएको हुँदा यो समस्या तत्काल समाधान गरिनुपर्ने धारण राखे । सो अवसरमा बोल्ने अधिकांशले छाडा चौपाया गाईलाई कपिलवस्तुको बुद्धभूमि नपाको तीनघरवा जङ्गलमा तारबार गरी राख्न सुझाव दिए । 

छाडा चौपाया व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा १० वटा पालिकाका जनप्रतिनिधि, वन कार्यालयका प्रतिनिधिलगायतको सहभागिता थियो । 


Author

थप समाचार
x