लुम्बिनी

अधिकार बाँडफाँटमा संकुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी

इकागज |
असोज ३, २०८० बुधबार २०:२४ बजे

फाइल तस्बिर

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख चुनौती रहेको बताएका छन् । उनले संविधान कार्यान्वयन अधिकार बाँडफाँट संविधानअनुसार हुनुपर्ने बताए ।

संविधान दिवसका अवसरमा आज लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले अधिकार बाँडफाँटमा सङ्कुचित हुनु नहुने र संविधानमा लेखिएको अनुसार काम गर्न पाउनुपर्ने बताए ।


संविधानमा सबैको भावना समेटिएको भन्दै उनले सबै भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबै खाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर यसको कार्यान्वयन सहज रूपमा हुन नसकेको बताए ।

संविधान कार्यान्वयन गर्न सबै निकायबीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै मुख्यमन्त्री चौधरीले संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । 

'संविधानमा भएका अधिकार चाँडै प्रदेशले प्राप्त गरोस् । संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याइँ भएको छ,' उनले भने, 'जनतासँग नजिक हुनको लागि यो संविधानले महत्त्वपूर्ण योगदान दिएको छ ।'

सभामुख तुलाराम घर्तीमगरले राजनीतिक अस्थिरताका कारण सोचेका काम पूरा गर्न नसके पनि हाम्रो प्रदेशमा आवश्यक कानुन बनाउन सफल भएको बताए । उनले प्रदेश सरकारप्रति आशा, भरोसा र विश्वास बढेको बताउँदै प्रदेश सरकार सबैको दिल, दिमागमा स्थापित भएको बताए ।

कार्यक्रममा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले संविधान समावेशी र जनताको पक्षमा रहेको बताए । उनले तीन तहको सरकारले काम गरेर संविधान कार्यान्वयनलाई पूर्णताः दिनुपर्ने आवश्यकता रहेको बताए । त्यस अवसरमा संविधान दिवस मूल समारोह अघि विभिन्न किसिमका संस्कृति झल्कने झाँकीसहित प्रभातफेरी निकालिएको थियो ।


Author

थप समाचार
x