लुम्बिनी

प्रिन्सिपल पाठकलाई पदमुक्त गर्ने सहमतिपछि टुंगियो मेडिकल कलेज भैरहवामा आन्दोलन

इकागज |
कात्तिक २१, २०८० मंगलबार १२:५० बजे

बुटवल- ड्रेस कोडका विषयमा शुरु भएको मेडिकल कलेज भैरहवाको आन्दोलन एक महिनापछि टुंगिएको छ । कलेजका प्रिन्सिपल डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमतीसँगै आन्दोलन टुंगिएको हो । ड्रेसको विवाद बढ्दै जाँदा विद्यार्थीहरूले गत असोज २२ गतेदेखि चिकित्साशास्त्र स्नातक (एमबिबिएस) र दन्त चिकित्सा स्नातकका विद्यार्थीहरूले प्रशासनमा धर्ना दिएका थिए ।

आन्दोलन चर्किँदै गएपछि असोज २८ गतेदेखि विद्यार्थीहरूले रिले अनशन सुरु गरेका थिए । उनीहरूले कलेजका प्रिन्सिपल पाठक ५ दिनसम्म कार्यकक्षमै थुनेका थिए । मेडिकल कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीका प्रतिनिधीबीच मंगलबार भएको सहमतिमा प्राचार्य पाठकलाई पदमुक्त गरी नयाँ प्राचार्य नियुक्त गर्ने उल्लेख छ । कलेज प्रशासन र विद्यार्थीहरूबीच ६ बुँदे सहमति भएको छ ।


सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘प्रा डा. लक्ष्मी पाठकलाई कलेजको प्राचार्यबाट पदमुक्त गर्ने र नयाँ प्राचार्य यथाशीघ्र नियुक्त गर्ने ।’ यो सहमतिपछि विद्यार्थीहरूले विगत एक महिनादेखि गर्दै आएको आन्दोलन स्थगित गरेका हुन् । विद्यार्थीको सवालमा दीर्घकालिन प्रभाव पार्न सक्ने खालका निर्णय एकेडेमिक काउन्सिलले गर्ने पनि सहमति भएको छ । विद्यार्थी कल्याणकारी समितिलाई अद्यावधिक गर्ने सहमति भएको छ । 

आंशिक तथा आवासीय चिकित्सकहरूको पारिश्रमिकको सम्बन्धमा यथाशीघ्र समिति गठन गर्न उनीहरू सहमत भएका छन् । विभिन्न मेडिकल कलेजहरूको अवस्था अध्ययन गरेर विद्यार्थीको रायसमेत लिई प्रस्तावित मिति र रकमसहित १५ दिनभित्रमा रिपोर्ट पेश गर्ने सहमति पनि भएको हो ।

आन्दोलनको विषयलाई लिएर आगामी दिनमा कुनै पनि विद्यार्थीमाथि पूर्वाग्रहपूर्ण व्यवहार नगर्ने र मूल्याङ्कनमा भेदभाव नगर्ने तथा सिकाई अवधिलाई वैज्ञानिक तथा उपलब्धिमुलक बनाउने कुरालाई मुख्य प्राथमिकतामा राख्दै अनावश्यक समय नलगाउने र इन्टर्नसम्बन्धी सम्पूर्ण काम कारबाही नेपाल मेडिकल काउन्सिलको प्रावधान बमोजिम गर्ने सहमति पनि भएको छ । 

आन्दोलनको मुख्य कारण बनेको नयाँ ड्रेस कोड सम्बन्धमा विभागीय प्रमुखहरूको बैठक बसेर विद्यार्थीहरूको सहजतालाई मध्यनजर गरी लागू गर्ने सहमति भएको मेडिकल कलेज प्रशासनले जनाएको छ । मेडिकल कलेजका प्राचार्य पाठकले गोजीबिनाको पहेँलो सर्ट र कालो पाइन्टलाई ड्रेस तोकेपछि विद्यार्थीहरूले छात्रको लागि गोजीसहितको सर्ट पाइन्ट र छात्राहरूको लागि कुर्ता सुरुवाल ड्रेस बनाउन माग गरेका थिए । तर प्राचार्य पाठकले ड्रेसमा गोजी राख्दा परीक्षामा चिट लैजान सक्ने तर्क गर्दै गोजी राख्न नदिएको विद्यार्थीहरूको भनाइ थियो ।

मेडिकल कलेज प्रशासन र विद्यार्थीहरूबीचमा सहमति भएपछि मंगलबारदेखि नै कलेज र अस्पतालका समेत विभिन्न विभागमा लगाइएका ताला खोलिएको र अस्पतालको सेवा समेत सुचारु भएको मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पीएसले जानकारी दिए ।

ड्रेसको विषयबाट सुरु भएको विद्यार्थीहरूको आन्दोलनका कारण पठनपाठन मात्र होइन मेडिकल कलेजको उपचार सेवा नै एक महिनादेखि प्रभावित बनेको थियो । विद्यार्थीको आन्दोलनमा आंशिक र आवासीय चिकित्सकहरूले समर्थन गर्दै नियमित काममा उपस्थित नभएपछि मेडिकल कलेजमा बिरामीहरूको उपचार ठप्प बनेको थियो ।


Author

थप समाचार
x