लुम्बिनी

भैरहवामा करोड बढीको भारतीय फूल भण्डारण गरेको भेटियो

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १०:२१ बजे

बुटवल- तिहार नजिकिँदै जाँदा रुपन्देहीको भैरहवास्थित एक कोल्ड स्टोरमा ठूलो परिमाणमा भारतीय फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेको छ । भारतबाट भन्सार छली भित्र्याइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको माला भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा फेला परेको रुपन्देही प्रहरी स्रोतको दाबी छ ।

भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको १ करोड बढी मूल्य पर्ने माला रातिदेखि सो कोल्ड स्टोरमा राखिएको स्रोतको दाबी छ । स्वदेशी किसानबाट उत्पादित फूल र फूलजन्य पदार्थलाई प्रवर्द्धन गर्ने सरकारले घोषणा गरिरहँदा रुपन्देहीमा सीमा क्षेत्र हुँदै ठूलो परिणाममा अवैध फूल र फूलका माला नेपाल भित्रिएको हो ।


कोल्ड स्टोरमा फूलको माला फेला परेको रुपन्देही प्रहरीले स्वीकार गरे पनि फेला परेको फूलमाला वैध हो वा अवैध भन्‍ने खुलाएको छैन । फूलका अवैध आयातकर्ताहरूले रातारात नेपाली फूल खेती गर्ने किसानबाट नक्कली बिल बनाउने प्रयास गरिरहेको स्रोतले बताएको छ । कोल्ड स्टोरमा करोड बढीको माला भण्डारण गरिएको बताइए पनि मालाको संख्या भने प्रहरीले खुलाएको छैन ।

रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले फूलको माला कोल्ड स्टोरमा फेला परेको पुष्टि गर्दै फेला परेको मालाको वैधानिकताको जाँच भइरहेको बताए । ‘वैध हो वा अवैध कागजपत्र हेरेपछि मात्र थाहा होला, अहिल्यै भन्‍न सकिन्‍न’ उनले भने ।

मालाको सप्लायर्सलाई बचाउन प्रदेश सरकारकै एक मन्त्रीले प्रहरीलाई दबाब दिएको स्रोतको भनाई छ । लक्ष्मीदास मानन्धरको नाममा रहेको सो कोल्ड स्टोरमा कस्ले माला भण्डारण गरेको हो भन्ने विषय प्रहरीले खुलाएको छैन ।


Author

थप समाचार
x