लुम्बिनी

चिनियाँ मन्त्रीलाई उपाध्यक्ष लामाले राखे लुम्बिनी विकासमा सहकार्यको प्रस्ताव

इकागज |
मंसिर ३०, २०८० शनिबार १०:५५ बजे

लुम्बिनी- लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकासमा बौद्ध धर्मको प्रचारप्रसारका लागि चीन सरकारसँग सहकार्यका लागि आग्रह गरेका छन् । 

उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएका चिनियाँ उपमन्त्री वाङ रुइजुनसँग शुक्रबार लुम्बिनीमा गरेको भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य, बुद्ध शिक्षाको प्रवर्द्धनसँगै लुम्बिनीको पर्यटन प्रवर्द्धनबारे छलफल गरेको बताए ।  


उपाध्यक्ष  लामाले धार्मिक र सांस्कृतिक आदानप्रदानसँगै लुम्बिनीमा चिनियाँ पर्यटक भित्र्याउन चिनियाँ उपमन्त्री वाङसँग आग्रह गरे । उनले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ पर्यटक भित्र्याउन चीनको गोञ्जाउ विमानस्थलबाट सिधा उडान सञ्चालनका लागि आग्रह गरेको जानकारी दिए । 

त्यस अवसरमा चिनियाँ उपमन्त्री वाङले चिनियाँलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने वातावरण बनाउने र गौतमबुद्ध विमानस्थलमा उडानका सन्दर्भमा पनि सम्बन्धित निकायसँग छलफल गर्ने आश्वासन दिएका छन् । उपाध्यक्ष लामाका अनुसार उनले लुम्बिनीको विकास, संरक्षण र धार्मिक सांस्कृतिक सहकार्यका लागि आफूहरू सकरात्मक रहेको बताएका थिए ।  

भेटमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, नेपाल–चीनमैत्री समाज, लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाको उपस्थिति थियो । रासस


Author

थप समाचार
x