बाँकेमा नक्कली औषधि पसल सिल, नक्कली बिक्रेता नियन्त्रणमा
जानकी (बाँके)- बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ । डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले शुक्रबार पक्राउ गरेको छ ।
अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपुर्वा पुगेको जिल्ला प्रशासनको टोलीले नक्कली औषधि पसल सञ्चालक लखेरलाई पक्राउ गरी पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
प्रजिअ पोखरलेका अनुसार पक्राउ गरिएका विकास लखेरले औषधि बिक्री गर्ने योग्यताको प्रमाणपत्र देखाउन सकेका थिएनन् । उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको प्रजिअ पोखरेलले बताए । आरोपी लखेरको पसलमा करिब ७५ प्रतिशत औषधि म्याद गुज्रिएको अवस्थामा समेत भेटिएको छ ।
'म्याद गुज्रिएको भन्दा बाहेकका औषधिहरूको उपयोग म्यादमा हातले नै ‘ओभर राइट’ गरेको फेला परेको छ, 'प्रजिअ पोखरेलले भने, 'उपयोग गर्न निषेध गरिएको भिगो ट्रप्पल एक्स, डर्मिकेम र कम्बिनेसनमा भएका अन्य औषधिहरू पनि सो पसलमा बेच्ने गरेको भेटिएको छ । अनुमति बिना सञ्चालित पसल सिल गरेको छ ।'
बिक्रेता विकास लखेरलाई औषधि बिक्री वितरणसम्बन्धी प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रजिअ पोखरेलले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया