लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण, भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन

इकागज |
चैत २५, २०८० आइतबार २१:० बजे

लुम्बिनी- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरेका छन् । मुख्यमन्त्री नियुक्त भएर आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै उनले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गरेका हुन् । 

मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्टाचार निवारण र सुशासनका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवं विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको हो । कार्यदलले दुई महिनाभित्र कार्ययोजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने छ । यस्तै पदभार ग्रहण गर्दै नव नियुक्त मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


उनले उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने मुख्यमन्त्री महराले प्रतिबद्धता व्यक्त गरे । 

लुम्बिनी प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका महरासँगै अन्य तीन जना मन्त्रीले पनि आजै शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीको जिम्मेवारी चाँडै तोकिने र एक महिनाभित्र सरकारलाई पूर्णता दिनेगरी आफूले पहल लिएको मुख्यमन्त्री महराले जानकारी दिए । 


Author

थप समाचार
x