लुम्बिनी

लुम्बिनीमा सत्ता परिवर्तनको चर्चासँगै एकपछि अर्को सांसद भूमिगत !

कता हराइन् सांसद विमला ?

माओवादी सांसद भन्‍छन्- राति गाडीमा आएर कोठाबाट लिएर गए

विक्रम खड्का |
साउन १६, २०७८ शनिबार ९:१४ बजे

बुटवल- लुम्बिनी प्रदेशमा झनता समाजवादी पार्टी (जसपा) सांसद पुर्मती ढेंगा मगर सम्पर्कविहीन खबर सार्वजनिक भएको तीन दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला वली शुक्रबार रातिबाट सम्पर्कविहीन भएकी छन् । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी गरिरहँदा गठबन्धनमा रहेका सांसदहरू पालो गरिगरी सम्पर्कविहीन हुने घटनालाई अर्थपूर्णरूपमा हेरिएको छ ।

शुक्रबार अपरान्हसम्म बुटवलको नयाँ गाउँस्थित आफ्नै डेरामा रहेकी सांसद वली बेलुका ८ बजेतिरबाट सम्पर्कविहीन भएको प्रदेशसभामा माओवादी केन्द्रका सांसद आईपी खरेलले बताए । रातिको समयमा गाडी आएर कोठाबाट लिएर गएको स्थानीयलाई उदृत गर्दै सांसद खरेलले बताए । उनले मुख्यमन्त्री शंकर पोखरेलले एकपछि अर्को प्रतिगामी कदम चाल्दै गरेको आरोप लगाउँदै कुनै पनि षड्यन्त्र सफल नहुने बताए । 


उनले भने, ‘सत्तासिन साथीहरूले जबर्जस्ती आफ्नो पक्षमा तान्‍न खोज्दै हुनुहुन्छ, तर विमला कुनै पनि हालतमा उता जानुहुन्‍न’ खरेलले भने । सम्पर्कविहीन भएको खबर सार्वजनिक भएसँगै सांसद वलीको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क भए पनि फोन उठेन ।

नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रतर्फ सार्वजनिक भएकी थिइन् । प्रदेश सभा सदस्य ढेंगा सम्पर्कविहीन हुदाँ प्रहरी प्रशासनमा खोजी गरिदिन निवेदन परेको थियो तर यस पटक भने कुनै उजुरी नपरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुवँरले बताए । 

उता माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले सबैतिर खोजी भए पनि सम्पर्कमा नआएको बताए । उनले सत्तापक्षले नै सम्पर्कविहीन बनाएको आशंका व्यक्त गरे । 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x