लुम्बिनी

एमाले विभाजनको असर

लुम्बिनीका स्थानीय तहमा ७१ जनप्रतिनिधि एकीकृत समाजवादीमा

बिक्रम खड्का |
भदौ २३, २०७८ बुधबार ९:४७ बजे

फाइल तस्‍बिर

बुटवल - नेकपा एमाले विभाजनको असर लुम्बिनीको स्थानीय तहमा  न्यून देखिएको छ । नेकपा एकीकृत समाजवादी (माधवकुमार नेपाल)का पक्षमा लुम्बिनीमा तुलनात्मक रूपमा कम जनप्रतिनिधि देखिएका हुन् । भदौ २२ सम्म दल रोज्ने समयअवधिमा ७१ जना स्थानीय तहका जनप्रतिनिधिले नेपालको पार्टी राजेका छन्। लुम्बिनीमा एमालेका ३ सय ५० भन्दाल बढी जनप्रतिनिधि रहेका छन् ।

पहिले नेपाललाई साथ दिएका युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरू एमालेमै बसेपछि नयाँ दल रोज्‍नेहरूको संख्या कम भएको हो। 
लुम्बिनी प्रदेश सभामा पाल्पाका रमा घर्ती मगर मात्रै नेकपा एकिकृत समाजवादीमा खुलेकी छन। लुम्बिनीमा एमालेका ३७ जना सांसद छन्। तर, पाल्पाकी घर्ती नयाँ दलमा गएपछि एमालेमा भने ३६ जना सांसद संख्या रहेको छ। यसअघि नेपाल पक्षमा खुलेका विष्णु पन्थी एमालेमै बसेका छन्।


स्थानीय तहका जनप्रतिनिधिले पनि निकै कम मात्रै नयाँ दल रोजेका छन। सबैभन्दा धेरै दाङ जिल्लामा २१ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। रुपन्देहीमा घनश्याम भूसालले केही जनप्रतिनिधिलाई रोक्न सफल भएका छन्। रुपन्देहीमा नेकपा एमालेका एक जना उपमेयरसहित सात जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन्। 

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याय भण्डारीले सोमबार ५ जना र मंगलबार २ जना गरी ७ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको बताए। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ का सदस्यहरू सरस्वती पोखरेल र सितादेवी विकले एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिए।
 
पोखरेल वडा नम्बर ७ कि महिला सदस्य हुन् भने विक दलित महिला सदस्य हुन्। यसअघि सोमबार एकजना नगर उपप्रमुखसहित पाँच जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए।  सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवलका वडा सदस्यहरू चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षेत्रीले निर्वाचन कार्यालय भैरहवा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।

रुपन्देहीमा १६ स्थानीय तहमध्ये सातवटामा प्रमुख र आठवटामा उपप्रमुख पद एमालेले जितेको थियो। १५ जना प्रमुख र उपप्रमुखमध्ये एकजनाले एकीकृत समाजवादी रोज्दा १४ जना भने एमालेमै छन्। एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भूसालले जनप्रतिनिधि रोक्न जिल्लामै बसेकाले पनि धेरै जना नखुलेको नेकपा एकीकृत समाजवादीका रुपन्देही संयोजक राजु गुरुङले बताए। 

सनाखत गर्न हिडेका जनप्रतिनिधिलाई समेत विभिन्‍न प्रलोभन देखाएर बाटैबाट फर्काइएको उनले बताए। त्यस्तै रुपन्देहीका १९ जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी छोडेर लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। मर्चवारी गाउँपालिकाका प्रमुख केशवनन्द बानियाँ र उपप्रमुख सुनिता कलवारसहित १९ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका हुन्। 

स्थानीय तहको निर्वाचनमा रुपन्देहीका चारवटा स्थानीय तहमा जनता समाजवादी पार्टीले सिट सुनिश्चित गरेको थियो। त्यस्तै दाङको स्थानीय तहका २१ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी दल रोजेका छन्। भदौ १५ गतेदेखी २२ गते सम्म दल रोज्न समय निर्धारण गरेको थियो। 

सोही अनुसार दाङका स्थानीय पालिकाका २१ जना जनप्रतिनिधिहरूले प्रदेश निर्वाचन कार्यालय दाङमा सनाखत गरेको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए। समाजवादीका नेता मेटमणि चौधरी र भागवत विश्वासीको जिल्ला भएकाले यहाँ केहि प्रभाव परेको हो। तर, अधिकांश जनप्रतिनिधिले भने एमाले छाडेनन्। 

त्यस्तै अर्घाखाँची जिल्लामा एमालेबाट निर्वाचित एक गाउँपालिका उपाध्यक्षसहित ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्। पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित चारजनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै अन्य बाँकी वडा सदस्यहरू रहेको निर्वाचन आयोगले जनाएको छ।

गुल्मीमा नेकपा एकिकृत समाजवादी पार्टी जनप्रतिनिधीका रुपका हिसावले समेत शून्य बनेको छ। निर्वाचन आयोगले दल रोज्‍न पाउन मंगलबार अन्तिम दिन भदौ २२ गतेको कार्यलय समय भर कुनै एक जना पनि जनप्रतिनिधी  नेकपा समाजवादी दल रोज्‍न नआएको हो। जिल्ला निर्वाचन अधिकारी माया कुँवरले जानकारी दिइन्।

जिल्ला निर्वाचन अधिकारी कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिकासहित १२ वटा पालिकामध्ये सातवटा पालिका प्रमुखमा एमालेका नेताहरू छन्। १० जना उपप्रमुख छन्।  वडाध्यक्ष र  वडा सदस्य ३१३ जनासहित ३ सय ३०  जना नेकपा एमालेका स्थानीय जनप्रतिनिधीहरू रहेका छन्। राष्ट्रियस्तरमा रामकुमारी झाँक्रीको प्रभाव र चर्चा चुलिए पनि स्थानीय तहमा भने उनको प्रभाव कमजोर देखिएको छ।

यसैगरी बाँकेमा एक जना वडाध्यक्षसहित १२ जनाले नेकपा एकीकृत समाजवादी दल रोजेका छन्। एक वडाअध्यक्षसहित ३ कार्यपालिका सदस्य र बाँकी सदस्यहरू रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले बताए।

यसैगरी कपिलबस्तुमा नेकपा एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादीमा एक जना मात्रै वडा सदस्य खुलेका छन्। शिवराज नगरपालिका कार्यपालिका एक जना सदस्यले जिल्ला निर्वाचनमा गएर समाजवादीमा सनाखत गरेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै अर्का शिवराज नगरपालिकाका एक जना वडाअध्यक्षले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। त्यसैगरी प्यूठानमा ७, रुकुम पूर्वमा एक उपाध्यक्षसहित ५, रोल्पामा ५, पाल्पा, नवलपरासी र कपिलबस्तुमा एक-एक जनाले मात्रै नेकपा एकिकृत समाजवादी पार्टी रोजेको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले बताए। 

लुम्बिनीमा नेकपा एकीकृत समाजवादी (स्थानीय तह जनप्रतिनिधि) 
दाङ - २१ 

बाँके – ११ 

रुपन्देही– ७ 

बर्दिया – ६ 

रुकुम पूर्व – ५ 

रोल्पा – ५ 

अर्घाखाँची – ६ 

प्युठान – ७ 

गुल्मी – ० 

पाल्पा –१ 

नवलपरासी (पश्चिम) –१ 

कपिलवस्तु – १ 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x