लुम्बिनी

मदिराविरुद्ध चिस्पाधाराका महिला

नमस्कार शाह |
मंसिर २८, २०७७ आइतबार ८:४९ बजे

मदिरा पोख्दै चिस्पाधाराका महिला । तस्बिर : इकागज

रोल्पा : स्थानीयहरुको सक्रियता र अग्रसरतामा राज्यले गर्न नसकेका कार्यहरु समेत सम्भव हुन्छन् भन्‍ने कुराको ज्वलन्त नमुना बनेका छन्- रोल्पाको सुनिल स्मृति गाउँपालिका- ७ चिस्पाधाराका महिलाहरु । उक्त गाउँका महिलाहरुले राज्यले नियन्त्रण गर्न नसकेको मदिरा नियन्त्रण गरेर नमुना योग्य कार्य गरेका छन् ।

गाउँमा पुरुषहरुले दिनहुँ जसो मदिरा सेवन गरि समाजमा अराजकता सृजना गरेको महसुस गरेपछि स्थानीय महिलाहरु मदिरा नियन्त्रण अभियानमा जुटेका थिए । स्थानीय स्वयंसेविका एमकि पुनले गठन गरिदिएको स्वास्थ्य आमा समूहको नेतृत्वमा २०७३ साल देखि मदिरा बिरोधी अभियान महिलाहरुले सशक्त रुपमा सञ्चालन गरिरहेका छन् ।


नजिकैको जुटुङ खोलाको आमा समूहले मदिरा बिरोधी अभियान सञ्चालन गरेको थाहा पाएर सोही कार्यको सिको गरि गाउँभरका पुरुष, महिला बोलाई मदिरा बिरुद्ध सबै लाग्‍ने प्रतिबद्धता महिलाहरुले गराएका थिए । सोही बमोजिम बिमला आले नेतृत्वको आमा समूहले मदिरा बिरोधी अभियान सुरु गर्‍यो । उनीहरुले जुवा, तासका साथै मदिरा निषेध गर्नका लागि कापरवाहीको योजना समेत बनाए ।

मदिरा बिक्रि गर्नेलाई ५ हजार जरिवाना, पहिलो पटक मदिरा सेवन गरि होहल्ला गर्नेलाई २५ सय, दोश्रो पटक सेवन गर्नेलाई ५ हजार र तेस्रो पटक सेवन गर्नेलाई प्रशासनको जिम्मा लगाउने नियम बनाएर सो नियम पालनाका लागि स्थानीय महिलाहरु कम्मर कसेर लागे ।

उनीहरुले यस क्रममा २० जना बढिलाई उनीहरुले जरिवाना गराईसकेका छन् । हाल जरिवानबाट ६५ हजार रकम जम्मा भएको छ । जम्मा भएको रकमबाट उनीहरुले सामाजिक कार्य समेत गरेका छन् । हालकी अध्यक्ष खौमाली आलेका अनुसार, जरिवानाबाट जम्मा भएको रकम मध्ये जनप्रिय नमुना प्राविलाई ३१ हजार सहयोग गरिएको छ ।

तेबाङ गाउँको मेलाबाट आमा समूहका सदस्यले फेला पारेको मदिरा संकलन गरेर वडा कार्यालयसम्मै ल्याए । वडाध्यक्षसहितका जनप्रतिनिधिको रोहवरमा आमाहरूले बजारबाट आयातित मदिरासमेत पोखेर नष्ट गरिदिए । स्थानीय महिला अगुवा भविन्द्र रोकाले महिलाहरुको अग्रसरतामा गाउँलाई मदिरा निषेधित गाउँ बनाउन सफल भएको बताइन् ।

बिहे, भोज, जात्राहरुमा मदिरा सेवन गरेर उपद्रो गर्नेहरु अहिले शान्त छन् स्थानीय महिला सरिता पुन मगरले भनिन् 'कसैले मदिरा सेवन गरेर होहल्ला गरिरहेको थाहा पाउने बित्तिकै सबै महिला एकजुट भएर नियन्त्रणमा लिने गरेका छौं ।' स्थानीयहरुले मदिरा बिरोधी अभियान सञ्चालन गर्दा आफ्नै नातेदार जरिवाना पर्दा समेत अभियान नछोडेको बताएका छन् । स्थानीय महिलाहरुले मेलाबाट मदिरा नियन्त्रणमा लिईसुनिल स्मृति गाउँपालिका–७, तेबाङका वडाध्यक्ष मानसिंह पुनकै रोहवरमा नष्ट गरेपछि वडा भरि उक्त आमा समूहको चर्चा चुलिएको छ ।

सदरमुकाम लिबाङदेखि करिब २५ किलोमिटर पूर्वको दुर्गम गाउँ तेबाङ नजिक रहेको चिस्पा गाउँका आमाहरूको यो मदिरा बिरोधी अभियान सबैका लागि अनुकरणिय रहेको छ । झन्डै ४ सय ५० घरधुरी रहेको तेबाङमा ६ वटा आमा समूह सक्रिय रहेको सहास नेपालकी जिल्ला संयोजक मेनका मल्ल बताउँछिन् । उनका अनुसार, सहासले आमा समूह लगायतका समूहहरुलाई विकृति, बिसंगतिविरुद्धका अभियानहरुमा सहयोग गर्दै आएको छ ।


Author

थप समाचार
x