लुम्बिनी

लुम्बिनी प्रदेशमा कांग्रेसको प्रर्दशन

सरकारको कार्यशैलीप्रति चर्को आक्रोश(फोटो फिचरसहित)

बिक्रम खड्का |
मंसिर २९, २०७७ सोमबार १७:४४ बजे

बुटवल : नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रमअन्तरगत सोमबार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा प्रर्दशन भएको छ । प्रर्दशनकारीहरूले सरकारविरुद्ध आक्रोस व्यक्त गरेका छन् । तराईका जिल्लामा चिसो मौसम तथा कोभिडको त्रास कायमै रहेको बेला कांग्रेस कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् । भर्खरै राजावादीहरूले प्रर्दशन गरिरहेका बेला कांग्रेसको प्रर्दशनमा कोभिडको असर देखिएन । 


अधिकांश मास्क लगाएर सडकमा आए पनि समाजिक दुरीको भने कतै पालना देखिएको छैन । पार्टी र देशको झण्डा समेत लिएर सडकमा आएका कार्यकर्ताहरूले सरकारविरुद्ध निकै कडा आक्रोश व्यक्त गरेका छन् ।पार्टीले तोकेका भन्दै अझै कडा नाराहरू लगाएर उनीहरूले प्रर्दशन गरेका थिए । शान्तिपूर्ण रुपमा सबै जिल्लामा प्रर्दशन भएको छ । कांग्रेसको प्रर्दशनका कारण प्रर्दशन भएका स्थानमा दिनभर जसो ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । 

सरकारले गरेका भ्रष्टाचार वेथिति र अधिनायकवादविरुद्ध खबरदारी गर्न विरोधसभा गरेको रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् । कोभिड १९ का कारण विश्व नै आक्रान्त बनेका बेला सरकारले जनतालाई राहत दिनुको सट्टा आफैले चरम भ्रष्टाचार गरेको, स्वास्थ्य सामग्रीमा अनियमिता गरेको र सरकारले तानाशाह प्रवृति देखाएको भन्दै सरकारलाई सच्चिनको लागि विरोधसभा गरेको उनीहरूको भनाइ छ ।

विरोध सभामा कांग्रेस केन्द्रीय सुरेन्द्र पाण्डेले सरकारले निरंकुशता लाद्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । सरकार चरम भ्रष्टाचारमा लागेको र जनताले दिएको मतको दुरुपयोग गरेको भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेलिाई जनताले पहिलो पाटी बनाउने ठोकुवा गरे । 

कांग्रेस पश्चिम नवलपरासीले सरकारविरूद्ध सदरमुकाम परासीमा बिरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट निस्केको जुलुस जिल्ला प्रशासन हुँदै बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलले काण्डै काण्डमा मुछिदै गएको सरकारले संवैधानिक संकट निम्ताउन खोजेको आरोप लगाए । उनले आफ्नै पार्टीका नेताहरूको घेराबन्दीमा पर्दै गएका प्रधानमन्त्री केपी ओलीले चालेका हरेक कदम सर्वसत्तावादतर्फ उन्मुख भएकाले कांग्रेसले सांकेतिक आन्दोलन मात्र थालेको बताए ।

 यता कपिलवस्तुको विरोध सभामा वोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमालले सरकार नालाक बन्दै गएको आरोप लगाए । उनले आन्तरिक किचलोमा फसेको सरकारले जनतालाई राहात दिनै नसक्ने बताए । यस्तै पाल्पामा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य राजनप्रसाद पन्तले सम्बोधन गरेका थिए ।  गुल्मीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सम्बोधन गर्दै फासिष्ट बन्दै गएको ओली सरकारकाविरुद्ध अव कांग्रेस सडकमा निरन्तर उत्रिने बताए । 

अर्घाखाचीको विरोध सभालाई केन्द्रीय सदस्य पुष्प भुषालले सम्बोधन गरिन् । उनले सरकार पतनको बाटोमा अघि बढेको बताइन् । लुम्बिनी प्रदेशको दाङमा कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरिले सम्बोधन गरेका थिए । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x