लुम्बिनी

संकटमा लुम्बिनी सरकार

बिक्रम खड्का |
पुस ६, २०७७ सोमबार १७:१३ बजे

बुटवल : नेकपा किचलोका कारण पार्टी विभाजनको सँघारमा र प्रतिनिधि सभा विघटन भएपछि यसको प्रभाव लुम्बिनी प्रदेश सरकारमासमेत देखिएको छ । नेकपा स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री शंकर पोख्रेल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्रसमेत हुन् । प्रधानमन्त्री ओलीसँग असन्तुष्ट अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार पक्षले साथ छोड्ना साथ प्रदेश सरकार ढल्ने आँकलन सुरु भएको छ । 

लुम्बिनी प्रदेश सभामा ८७ जना सांसदमध्ये पूर्वएमाले र माओवादीबीचको चुनावी गठवन्धनबाट ६१ जना निर्वाचित भएका थिए । तीमध्ये पूर्वएमालेबाट ४१ जना र माओवादीबाट २० जना छन् । जसमा दुवै पक्षका एक-एक सभामुख र उपसभामुख छन् । सरकारलाई बहुमत पुग्न ४४ सांसद आवश्यक पर्छ । पूर्वमाओवादीले मात्रै साथ छोड्दा पनि सरकार अल्पमतमा पर्ने अवस्था छ ।


लुम्बिनी प्रदेशमा प्रमुख विपक्षी नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका एकजना सांसद छन् । 

यद्यपि गृहमन्त्री रामबहादुर थापा पक्षका आन्तरिक मामिला तथा कानून मन्त्री कूल बहादुर केसी ‘सोनाम’ सरकारको पक्षमा उभिन सक्ने आँकलन गरिएको छ तर उनले औपचारिक रुपमा केही बोलेका छैनन् ।

तर आइतबारदेखि नै प्रदेश सासदहरू पनि आन्तरिक छलफल र भलाकुसारीमा जेटेका छन् । खासगरी उनीहरूले केन्द्रको आदेशको पर्खाईमा रहेको प्रतिक्रिया दिएका छन् । पार्टी फुटेको औपचारिक निर्णय बाँकी भए पनि अब एक भएर जान सक्ने सम्भावना न्यून छ । यस अर्थमा केन्द्रको समिकरण फेरबदल प्रदेशमा पनि पर्ने निश्चत छ । 

पूर्वएमालेभित्र नेपाल पक्षभन्दा प्रधानमन्त्री ओली पक्षका सांसद धेरै भए पनि पार्टी विभाजन हुँदाको अवस्थामा सरकार अल्पमतमा पर्ने निश्चित भएको नेपाल निकट नेकपा सांसद कमलराज श्रेष्ठ बताउँछन् । तर प्रधानमन्त्री ओली पक्षका सांसद एवं नेकपा प्रमुख सचेतक भूमिश्वर ढकाल भने आफूहरूको पक्षमा बहुमत सांसद रहने र सरकार नढल्ने दाबी गर्छन् ।

नेपाल पक्षमा पहिल्यैदेखि खुलेर लागेका सांसद विष्णु पन्थी भने माधव नेपाल पक्षमा १५ जनाको हाराहारीमा सांसदहरू रहेको दाबी गर्छन् ।

शंकर पोख्रेल नेतृत्वको सरकार अल्पमतमा पर्ने भएमा दाहाल–नेपाल पक्ष, कांग्रेस र जनता समाजवादी मिलेर सरकार बनाउन सक्ने सम्भावना रहने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान बताउँछन् । 

‘नयाँ सरकारका लागि समीकरण बन्न सक्छ, नेकपाभित्रको भावी कदमलाई हेरेर कांग्रेसले रणनीति बनाउँछ,’ खानले भने । उता ओली पक्षले पोखरेलको सरकार टिकाउन कांग्रेससँग हात फैलाउन सक्ने पनि उत्तिकै सम्भावना छ । 

सांसदहरूको विवरण 
लुम्बिनीमा सांसदहरूको संख्या –८७ 
नेकपाबाट विजयी –६१ जना 
साविक एमाले पक्षका –४१ जना 
साविक माओवादी केन्द्रका –२० जना 
नेपाली कांग्रेसका –१९ जना 
जनता समाजवादीका –६ जना 
जनमोर्चाका –१ जना 

याे पनि : सुदूरपश्चिम सभामा दाहाल-नेपाल समूहसँग सुविधाजनक बहुमत


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x