लुम्बिनी

गाई मारेको मुद्दामा कर्मचारीलाई जेल सजाय

नमस्कार शाह |
माघ १६, २०७७ शुक्रबार ८:१० बजे

नेपालगञ्ज : सुर्खेत जिल्ला अदालतले गौवध मुद्दामा नेपालगन्ज उपमहानगरपालिकाका दश कर्मचारीलाई जेल सजाय तोकेको छ । नगर प्रहरी निरीक्षकसहित दश जनालाई अदालतले बुधबार जेल सजाय तोकेको हो । २०७६ भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाई, गोरुहरु दैलेख लैजाने क्रममा सुर्खेत कटकुवाको भीरबाट खसालेर मारिएको थियो । ८ वटा ट्रकमा लगिएका २ सय ९१ मध्ये अन्य गाई, गोरु, बाच्छारबाच्छी जंगलमै अलपत्र छाडिएका थिए ।

बहुचर्चित उक्त घटनाका बिषयमा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल ईजलासले बुधबार मुलुकी अपराध संहिताको २८९ अनुसार उपमहानगरपालिकाका कर्मचारीहरुलाई जेल सजाय तोकेको हो । 


अदालतले नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई डेढ वर्ष जेल सजाय तोकेको छ भने नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष कैद तोकेको छ । यसैगरी नगर प्रहरी जवानहरु सुवर्ण तारामी मगर, कमल बयक, सुशान्त शाही र चन्द्रबहादुर रानालाई ६ महिना जेल सजाय तोकिएको छ । नगर प्रहरी जवान पवनकुमार कनोजियालाई ५ महिना, नगर प्रहरी जवानद्वय राकेश भारती, धर्मेन्द नेपाली र फायरम्यान कमल थापा मगरलाई ३ महिना जेल तोकिएको छ । 

मुद्दामा प्रतिवादी रहेका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् । गाई ओसार्नको लागि ट्रक उपलब्ध गराउने गुड्स क्यारियर ट्रान्सपोर्टका सञ्चालक सन्तृप्त सिंह श्रेष्ठ र ट्रक चालकहरु हिमबहादुर जिसी, दामोदर केसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा र सहचालकहरु विवेक कुँवर, कृष्णबहादुर बिसीले सफाइ पाएका हुन् ।

यस अगावै जिल्ला सरकारी वकिल कार्यालय, सुर्खेतले घटनासँग जोडिएको भनि अनुसन्धानमा रहेका बाँकेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको हकमा मुद्दा नचलाउने निर्णय गरिसकेको थियो । 


Author

थप समाचार
x