लुम्बिनी

बर्दियालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउँछौँ

चली ठाकुरद्धार  साइकल यात्रा पर्यटन क्षेत्रका लागि कोभिड भ्याक्सिन हो

इकागज |
माघ २४, २०७७ शनिवार ९:३५ बजे

कोभिड-१९ महामारीले पर्यटन व्यवसाय महिनौ ठप्प बन्यो । होटल, रेष्टुरेन्ट, लजदेखि पर्यटकीय गन्तव्य पनि बन्द रहे । कोभिडले थलिएको पर्यटन व्यवसायलाई उठाउन र चलायमान बनाउन टुर द ठाकुरद्धार अभियान चलाइएको छ । नेपाल पर्यटन बोर्डको सहयोग र समन्वयमा नाट्टा बाँके र नेपालगञ्ज साइक्लिंगल क्लबको आयोजनामा टुर द ठाकुरद्धार अर्थात चली ठाकुरद्धार अभियान चलाइएको हो । नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्धारसम्म चलाइएको अभियानमा झण्डै दुई सयले साइकल यात्रा गरे । पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटक तान्‍नका लागि साइकल अभियान चलाएका पर्यटन व्यवसायी श्रीराम सिग्देलले यसको संयोजन, व्यवस्थापन र नेतृत्व गरे । जसले कोभिडपछि नेपालमै पहिलो पटक पर्यटन क्षेत्रमा राष्ट्रिय तहकै बाँके र बर्दियामा पर्यटन उभार ल्याए । कोभिडले थलिएको पर्यटन व्यवसाय उठाउने कामको नेतृत्व गरेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलसँग इकागजका लागि विष्णु विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

चली ठाकुरद्धार अभियान कसरी सुरु भयो ?
कोभिडले गर्दा पर्यटन व्यवसाय ठप्प थियो । पश्चिम नेपाल मात्रै होइन, नेपालमै पर्यटकीय गतिविधि रोकिएका बेला हामीले केही गर्नुपर्छ भन्‍ने सोचिरहेका थियौँ । त्यसै बेला नेपालगञ्ज साइक्लिङ क्लबबाट प्रस्ताव आयो । सुरुमा दुई वर्ष उनीहरुले नेपालगञ्जदेखि ठाकुरद्धारसम्म साइकल यात्रा गरेका थिए । तर यसपटक उनीहरुले हामीसँग सहकार्य  गर्ने भनेपछि नाट्टा बाँकेको अध्यक्षको हैसियतमा मैले हुन्‍छ भने । यसलाई वृहत् बनाउने अभियानको नेतृत्व गरे । नेपालमा अहिलेसम्मकै ठूलो साइकल यात्रा, पर्यटनका लागि साइकल यात्रा र कोभिडले थलिएको पर्यटन व्यवसाय उठाउने कदमका रुपमा पश्चिम नेपालका पर्यटन व्यवसायीले यसलाई बुझेका छन् ।


कुन-कुन संस्थासँग सहकार्य भएको छ ?
नेपालगञ्जदेखि ठाकुरद्धारसम्म साइकल यात्रा गर्ने भएपछि यसलाई वृहत बनाउने योजना पलायो । अझ त्यो भन्दा बढी राष्ट्रिय स्तरकै पर्यटन संघ संस्था र सरकारसँग पनि सहकार्य गर्ने सोच आयो । त्यसका लागि नेपाल पर्यटन बोर्डसँग प्रस्ताव लिएर गयौँ । बोर्डका सीइओ डा. धनन्जय रेग्मीले प्रस्ताव स्वीकार गर्नुभयो । त्यसैगरी नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाँईले पनि साथ दिनुभयो । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाले पनि साथ दियो । यस्तै बाँके र बर्दियाका सबै नगरपालिकाले पनि साथ दिने बचन दिएपछि कोभिडपछि पहिलोपटक पर्यटनका लागि साइकल यात्रा र बाँके तथा बर्दिया घुमाउने योजना सफल भएको हो ।

यसको खास उद्धेश्य र उपलब्धी चाँहि के हो ?
नेपालमा अहिलेसम्म पूर्वको जति धेरै प्रचार प्रसार भयो । त्यति प्रचार प्रसार पश्चिमको भएन । पश्चिम नेपालको पर्यटन प्रवर्द्धनका लागि ठूलो प्रयास नै न राज्यले गरिदियो । न यहाँका पर्यटन व्यवसायीले गरे । सबै पर्यटन व्यवसायीले संयुक्त रुपमा गर्न नसकिरहेका बेला हामीले सबैलाई मिलाएर पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटक प्रवर्द्धन गर्ने सोच र योजना बनायौँ । त्यसका लागि नेपालगञ्जदेखि ठाकुरद्धारसम्मका पर्यटकीय क्षेत्र हेर्ने योजना बन्यो । दुई जना साइकल यात्री र पर्यटकले बाँकेको बागेश्वरी मन्दिर, बर्दियाको बढैयाताल, कृष्णसार सरक्षण क्षेत्र, नेपालको सबैभन्दा लामो गेरुवा पुल हुँदै बर्दिया राष्ट्रिय निकुञ्जको केन्द्रबिन्दु ठाकुरद्धार यात्रा गर्ने सोच तय गर्‍यौँ । यसले नेपालगञ्जदेखि ठाकुद्धारसम्म साइकल रुट पनि छ भन्‍ने सन्देश दिएको छ । अर्कोतिर बाँके र बर्दियाको स्थानीय संस्कृति, थारु समुदायको पहिचान, सांस्कृतिक महत्वलाई पर्यटकले बुझ्‍ने अवसर पाएका छन् । यसले देश विदेशका पर्यटक तान्‍न ठूलो भूमिका खेलेको छ ।

कसरी पर्यटक आकर्षण गर्ने भूमिका भयो ?
यसअघि बाँके र बर्दिया आउने पर्यटक एक दुई दिन आएर बस्थे । घुम्थे जान्थे । अलि रहर गरेकाले जंगल सफारी गर्थे । जान्थे । तर यसपटक हामीले साइकलमै विस्तारै बर्दियाँका सबै होमस्टे जान सकिन्‍छ भन्‍ने सन्देश दियौँ । बर्दियाका थारु समुदायको पहिचान खुलायौँ । आन्तरिक पर्यटकका लागि बर्दियाको प्याकेज ल्याउन पर्यटन बोर्ड, पर्यटन व्यवसायीलाई भन्यौँ । अब साइकल टुरपछि नेपालगञ्जदेखि ठाकुरद्धारसम्म पर्यटक बस चलाउने योजना बनाएका छौँ । अब पर्यटन बोर्डको वेबसाइटमै नेपालगञ्जदेखि ठाकुरद्धारसम्मको साइकल रुटको विस्तृत जानकारी र नक्सा राखिएको छ । यसबाट पनि यस क्षेत्रको पर्यटनबारे देश विदेशमा प्रवर्द्धन भएको छ । साइकल यात्रा गर्ने सातै प्रदेशका दुई सय बढीले यसको प्रचार प्रसार गरे । यो सानो उपलब्धी होइन ।

अबको योजना के छ ?
अब हामी चाँडै बाँके र बर्दियाका स्थानीय तहका जनप्रतिनिधिलाई पर्यटन तालिम दिने योजनमा छौँ । त्यसपछि नेपालगञ्जदेखि रारासम्म साइकल यात्रा गर्ने योजना बनाएका छौँ । एक दुई महिनाभित्र नेपालगञ्जदेखि ठाकुद्धारसम्म पर्यटक बस चलाउने योजना बनाएका छौँ । यसका लागि नेपालगञ्ज उमहानगरपालिका, नाट्टा बाँकेले सहकार्य गर्दैछौँ । अब लुम्बिनीपछि कर्णालीलाई केन्द्रबिन्दुमा राखेर पर्यटकीय गतिविधि सञ्चालन गर्ने योजना बनाउदैछौँ । पश्चिम नेपाललाई पर्यटकीय हब बनाउने विशेष योजना छ । यसका लागि सबैसँग सहकार्य गर्दैछौँ ।

साइकल यात्राले कोभिडपछिको पर्यटन उकास्‍ने मेरुदण्ड कसरी बन्यो ?
अहिले पनि नेपालमै पर्यटन गतिविधि खुलेर भएका छैनन् । त्यसमाथि यसरी पर्यटन व्यवसायी आवद्ध कुनै पनि संघ सस्ंथाले खुलेर गतिविधि गर्न सकेका थिएनन् । तर हामीले पहिलो पटक कोभिडपछि पर्यटन व्यवसाय अब उठाउनुपर्छ, जगाउनुपर्छ, पर्यटकलाई घुम्‍ने वातावण बनाउनुपर्छ भनेर यो अभियान सुरु गरेका हौँ । जसले पश्चिम नेपालको पर्यटन उठाउने मेरुदण्डको काम यो साइकल यात्रा र बर्दियाका पर्यटकीय क्षेत्र घुम्‍ने गतिविधिले भएको छ । अब बाँके र बर्दियापछि नेपालका विभिन्‍न ठाउँमा पर्यटकीय गतिविधि हुनेछन् । नेपाल पर्यटन बोर्डले अरु ठाउँमा पनि पर्यटकीय गतिविधि गर्न समन्वय गर्ने भनेको छ । यसले हामीलाई मात्रै होइन, सबै पर्यटन व्यवसायीलाई खुशी दिलाएको छ । यसका लागि साथ सहयोग दिने पर्यटन बोर्ड, नाट्टा, नेपालगञ्ज उपमहानगरपालिका, बर्दियाका सबै स्थानीय सरकार, जनप्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकार सबैलाई धन्यवाद दिन चाहन्‍छु ।

र, यो पनि
- नेपालगञ्जदेखि ठाकुरद्धारसम्म साइकलमा सररर... (फोटोफिचर)


Author

थप समाचार
x