कर्णाली

प्रदेशमै दोहोरिने दाऊमा कर्णालीका पूर्व सांसद

लक्ष्मी भण्डारी |
असोज २८, २०७९ शुक्रबार १९:१३ बजे

सुर्खेत। सुर्खेतको क्षेत्र नं. २ प्रदेशसभा ‘क’ मा नेकपा एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेल उम्मेदवार बनेका छन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका कँडेल मुख्यमन्त्रीको आकाक्षीं पनि हुन् । पूर्वमन्त्रीसमेत रहेका कँडेल २०७४ को निर्वाचनमा कर्णालीको मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशमा झरेका थिए । अघिल्लो कार्यकालमा सो अवसर नपाएका कँडेलले अहिले पनि एमालेबाट प्रदेशसभामा उम्मेदवारी दिएका छन् । 

मुख्यमन्त्रीकै आकाक्षामा प्रदेशसभामा उम्मेदवारी दिएका छन् हालका मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि । मुख्यमन्त्री बन्ने चाहनामा शाही फेरि प्रदेशसभा सदस्यकै लागि चुनावी प्रतिस्पर्धा गर्दैछन् । उनी अघिल्लो पटकको निर्वाचनमा नेपाली कांग्रेसबाट कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने प्रदेशकै एक्ला सदस्य हुन् । सत्ता गठबन्धनबाट हुम्ला प्रदेशसभा ‘ख’ को उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन् । 


त्यसैगरी कर्णाली प्रदेशसभाका पूर्व सांसद ठम्मर विष्ट पनि पुनः प्रदेशसभाका उम्मेदवार बनेका छन् । विष्ट सुर्खेत क्षेत्र नं. १ प्रदेशसभा ‘क’ बाट उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार भइ निर्वाचित भएका थिए । मन्त्रीको आकाक्षी रहेका विष्ट मन्त्री सिफारिस नभएपछि माओवादी त्यागेर एमाले रोजेका थिए । अहिले विष्ट एमालेबाट प्रदेशसभाका उम्मेदवार बनेका छन् । नेकपा विभाजनपछि एमाले रोजेका उनलाई अहिले फेरि एमालेले पनि प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको हो ।

माओवादी केन्द्रले सुर्खेत क्षेत्र नं.२ प्रदेशसभा ‘ख’ बाट पुनः  निवर्तमान प्रदेशसभा सदस्य बिन्दमान विष्टलाई नै टिकट दिएको छ । उनले उक्त क्षेत्रबाट  विष्टले गठबन्धनको उम्मेदवारका  तर्फबाट मनोनयन दर्ता गरेका छन् । विष्ट कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत हुन् ।

पूर्वमुख्यमन्त्री समेत रहेका माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले यसपटक प्रतिनिधिसभा रोजेका छन् । उनी २०७४ सालमा भने प्रदेशमा झरेका थिए । अहिले पुनः प्रतिनिधिसभा सदस्यका लागि कालीकोटबाट उम्मेदवारी दिएका छन् ।

त्यसैगरी पूर्व सांसद समेत रहेका दैलेखका धर्मराज रेग्मी पुनः प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।उनले दैलेख क्षेत्र नं. १ प्रदेशसभा ‘क’ बाट उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य बनेका धर्मराज रेग्मी यसपटक पनि प्रदेशकै उम्मेदवार बनेका छन् ।

अघिल्लो निर्वाचनमा माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित रेग्मी नेकपा विभाजनपछि एमाले रोजेपछि एमालेबाट अहिले उम्मेदवारी दिएका हुन् । कर्णाली प्रदेशसभाका अघिल्लो कार्यकालका सांसदहरु दोहोरिने दाउमा उम्मेदवारी दर्ता गराएका छन् । ४० जना सदस्यमध्ये यसपटक एक तिहाइले मात्रै फेरि उम्मेदवार बन्ने मौका पाएका छन् । निवर्तमान प्रदेशसभा सदस्यहरूमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १३ जनाले मनोनयन दर्ता गराएका हुन् । कर्णाली प्रदेशसभाको सदस्यमा नौ जना पूर्व सांसद दोहोरिएका छन् भने चार जना निवर्तमान प्रदेशसभा सदस्यले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।


Author

थप समाचार
x