कर्णाली

के कर्णालीकाे मुख्यमन्त्री बन्लान् यी आकांक्षी ?

लक्ष्मी भण्डारी |
असोज ३०, २०७९ आइतबार १७:४२ बजे

सुर्खेत। आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा कर्णालीमा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ । निर्वाचन भएको करिब एक महिनापछि मात्रै कर्णाली प्रदेशले नयाँ मुख्यमन्त्री पाउने सम्भावना भएपनि निर्वाचन नजिकिदै गर्दा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा चर्चा र टिकाटिप्पणी सुरु हुन लागिसकेको छ । विशेषगरी प्रमुख तीन दल (नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र) मा भावी मुख्यमन्त्री चर्चा सुरु गरेका हो । कतिपय उम्मेदवार आफैले पनि मुख्यमन्त्रीको आकांक्षा व्यक्त गरेका छन् । 

कर्णालीका बहालवाल मुख्यमन्त्री जीवनबहादुर शाही पुनः मुख्यमन्त्रीमा दोहोरिने दाउमा छन् । उनी मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभामा उम्मेदवारी दिएका छन् । शाहीलाई काँग्रेसले प्रतिनिधि र प्रदेशसभामा उम्मेद्वारका लागि सिफारिस गरेको थियो । अन्ततः गठबन्धनका तर्फबाट हुम्ला प्रदेश सभा (ख)बाट उम्मेद्वारी दिएका छन् । बहालवाला मुख्यमन्त्री शाहीसँगै काँग्रेस प्रदेश सभापति ललितजंग शाहीपनि मुख्यमन्त्री बन्ने आकांक्षीमा छन् ।


‘प्रदेशसभाको लागि चुनाव लडेपछि जो सुकैको पनि चाहना हुनु स्वाभाविकै हो’ इकागजसँग कुरा गर्दै शाहीले भने, ‘प्रष्ट कुरा के हो भने पार्टीको बहुमत आयो र जिम्मेवारी दिइयो भने नाई भन्ने मुर्ख म होइन ।’ 

त्यसैगरी नेकपा एमालेले पोलिटब्यूरो सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल र कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह मुख्यमन्त्रीको आकाक्षीं हुन् । सुर्खेत क्षेत्र नं. २ (क)मा प्रदेशसभाका उम्मेद्वार उनी एमालेबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । मुख्यमन्त्री बन्नकै लागि कँडेल ०७४ मा प्रदेशका झरेका थिए । एमालेले बहुमत ल्याउँदै ल्याउँदै पनि गठबन्धनको  भागवण्डाका कारण मुख्यमन्त्री बन्ने सपना पुरा हुन सकेन ।

नेकपा विभाजनका बेला मुख्यमन्त्री बन्ने अवसर थियो तर, माधवकुमार नेपाल पक्षका चार जना सांसदले उनलाई साथ नदिएपछि उनी मुख्यमन्त्री बन्न सकेनन् । आगामी निर्वाचनपछि मुख्यमन्त्री बन्ने इच्छा पुरा गर्नकै लागि कँडेल पुनः प्रदेशका झरेका छन् । मुख्यमन्त्री बन्नकै लागि कँडेलले पार्टी नेतृत्वले प्रतिनिधिसभामा निर्वाचन लड्न गरेको आग्रह अस्वीकार गरेका छन् । 

त्यस्तै नेकपा माओवादी केन्द्रबाट पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व प्रदेशअध्यक्ष राजकुमार शर्मा मुख्यमन्त्रीकै दौडमा छन् । विष्ट सुर्खेत क्षेत्र नं. २ (ख) प्रदेश सभाबाट र शर्मा रुकुपश्चिम प्रदेशसभा (ख)बाट उम्मेद्वार हुन् । विष्ट उपमहासचिव शक्तिबहादुर बस्नेत र शर्मा उपमहासचिव जनार्दन शर्मा गुटका नेताहरु हुन् । पूर्व मन्त्री समेत रहेका विष्टले  मुख्यमन्त्रीको लागि आफ्नो पार्टीबाट अन्य उम्मेदवार भन्दा सम्भावना बढी भएको धारणा राखे । ‘गठबन्धनबाट निर्णय भएमा मुख्यमन्त्री बहन गर्न नसकिने पनि होइन’ उनी भन्छन्, ‘जिम्मेवारी आएमा जिम्मेवारी बहन गर्न सक्छु भन्नेमा छ ।’
 


Author

थप समाचार
x