कर्णाली

कर्णालीका ६ जिल्लामा चुनावी भिडन्त

पहिले सहकर्मी अहिले प्रतिस्पर्धी

लक्ष्मी भण्डारी |
कात्तिक २०, २०७९ आइतबार १९:५२ बजे

सुर्खेत- वर्षाैंसम्म एउटै पार्टीमा सहकार्य गरेका सहकर्मीहरुबीच यसपालि चुनावी प्रतिस्पर्धा हुँदैछ । लामो समयसम्म एउटै पार्टीमा सहकार्य गरेका दलका नेता अहिले फरक दलबाट उम्मेदवार छन् । जसका कारण कर्णाली प्रदेशका ६ वटा जिल्लाका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्व सहकर्मीहरूबीच नै रोचक चुनावी भिडन्त हुने देखिएको छ ।

विगतका निर्वाचनमा यी सहकर्मीहरू एउटै चुनाव चिह्नमा सहकर्मीलाई भोट माग्दै घरदैलो अभियानमा हिँड्ने नेताहरू अहिले भने आ-आफ्नो चुनाव चिह्नका साथमा प्रतिस्पर्धीको रूपमा चुनावी प्रचारमा लागेका छन् ।


कर्णालीको सुर्खेत, मुगु, दैलेख, सल्यान, डोल्पा, र जुम्लामा पूर्व सहकर्मीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । एमाले विभाजन भइ बनेको नेकपा (एकीकृत समाजवादी) र एमालेबीचमा नै अहिले कर्णालीका कतिपय निर्वाचन क्षेत्रमा रोचक रूपमा प्रतिस्पर्धा हुँदैछ । एकीकृत समाजवादी सत्तारूढ गठबन्धनमा छ भने एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्दैछ ।

सत्ता गठबन्धनमा एकीकृत समाजवादीको भाग परेका निर्वाचन क्षेत्रमा एमाले र एकीकृत समाजवादीका उम्मेदवारबीच नै मुख्य रूपमा चुनावी प्रतिस्पर्धा हुँदैछ ।

गठबन्धनको भागबण्डाअनुसार कर्णालीमा समाजवादीले प्रतिनिधि सभाका तीन र प्रदेश सभाका दुई क्षेत्रमा टिकट पाएको छ । समाजवादीले गठबन्धनबाट दैलेख, सल्यान र डोल्पामा प्रतिनिधि सभा र मुगु तथा जुम्लामा प्रदेशको एक/एक सीटमा टिकट पाएको छ । तीमध्ये सबैजसोमा मुख्य प्रतिस्पर्धी उम्मेदवार पूर्व सहकर्मीहरू नै छन् । यसबाहेक सुर्खेतको  क्षेत्र नम्बर दुईमा समाजवादीले गठबन्धनसँग पनि प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवार खडा गरेको छ ।

सुर्खेत क्षेत्र नं. २ ‘क’ मा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल र एकीकृत समाजवादीका केन्द्रीय सदस्य शिवप्रसाद उपाध्यायबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । विगतका चुनावमा यिनीहरू एउटै चुनाव चिह्न लिएर सँगै प्रचारप्रसारमा हिँड्ने सहकर्मी अहिले भने एकअर्काेका प्रतिस्पर्धीका रूपमा घरदैलो अभियानमा छन् ।

कँडेल र उपाध्याय लामो समय एमालेको राजनीतिका सहकर्मी हुन् । उपाध्याय अन्नतः एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा छन् । पहिले लामो समयसम्म सहयात्रा गरेका उनीहरू अहिले फेरि चुनावी मैदानमा आमुन्नेसामुन्ने भएका छन् । २०७० सालको निर्वाचनमा पनि उपाध्यायले कँडेलविरुद्ध बागी उम्मेदवार दिएका थिए । यद्यपि यी दुवै नेताले पराजय बेहोर्नुपर्यो ।

यस्तै कुनै बेला एउटै पार्टीका सहकर्मी रहेका सुर्खेत क्षेत्र नम्बर दुई (ख) बाट मोहन बढुवाल र ताराकेशर गौतम प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा आएका छन् । बढुवाल एकीकृत समाजवादी र गौतम एमालेका उम्मेदवार हुन् ।

दैलेखको क्षेत्र नं. १ मा  पनि प्रतिनिधि सभातर्फ समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले उम्मेदवारी दिएका छन् । थापासँग  मुख्य प्रतिस्पर्धीका रूपमा एमालेका जिल्ला पार्टी अध्यक्ष रविन्द्रराज शर्मा भिड्दै छन् । यी दुवै प्रतिस्पर्धी एमालेमा लामो समय सहकार्य गरेका नेता हुन् । थापा र शर्माको उम्मेदवारी परेपछि यसपटक त्यहाँ प्रतिस्पर्धा एकदमै रोचक बनेको छ ।

थापालाई गठबन्धनको साथ भएका कारण चुनाव जित्नेमा ढुक्क छन् । गठबन्धनको साथ पाएमा चुनाव जित्न सहज हुने थापाले बताए । आफूले एमालेमा रहँदा निर्माण गरेको संगठन र गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्न सकिने थापाले बताउँछन् । उनले एमालेका उम्मेदवारको तुलनामा धेरै मतले चुनाव जित्ने दाबी गरे । यता शर्माले पनि एमालेको बलियो गढ भएकाले थापालाई सहजै जित्न सकिने दाबी गर्दै आएका छन् । थापाले गठबन्धनसँगै एमालेका मत पनि धेरै लिने आंकलन गरिएको छ ।

त्यसैगरी दैलेखमा एमालेको गढ मानिने भएका कारण पनि नतिजा शर्माको पोल्टामा जान सक्ने पनि अनुमान गरिएको छ । यद्यपि यी दुवै नेता त्यस क्षेत्रको पुराना तथा प्रभावशाली नेता भएका कारण पनि नतिजा कसको पोल्टामा पर्छ भन्ने कुरा निर्वाचन पछि मात्र थाह हुन्छ ।

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । उनी समाजवादीका उपमहासचिव  हुन् । ज्वालालाई कर्णाली संसदमा फ्लोर क्रस गर्ने योजनाकार पनि मानिन्छ । उनलाई सत्ता गठबन्धनले अहिले साझा उम्मेदवार बनाएको हो । उनीविरुद्ध एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालसालै एमालेमा प्रवेश गरेका राजेन्द्रवीर रायलाई चुनावी मैदानमा उतारेको छ । राय राष्ट्रिय प्रजातन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष पद परित्याग गरी एक महिनाअघि मात्र एमालेमा प्रवेश गरेका थिए ।

प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा गठबन्धनले साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीका नेता धनबहादुर बुढालाई अघि सारेको छ । उक्त क्षेत्रमा पनि सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा छ । एमालेले भने पूर्व नगरप्रमुख गणेशबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । यी दुवै नेता पूर्व सहकर्मी हुन् ।

यता जुम्लामा निवर्तमान प्रदेश सभा सदस्य पदम रोकाय पुनः प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका छन् । यसपटक सत्ता गठबन्धनले उनलाई जुम्ला प्रदेश सभा ‘ख’ बाट उम्मेदवार बनाएको छ । रोकाय र उनका मुख्य प्रतिस्पर्धी एमाले प्रदेश कमिटी उपसचिव टेकराज पछाई पूर्व सहकर्मी हुन् । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित रोकाय पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका हुन् ।

मुगुको प्रदेश सभा ‘क’ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता गोपाल बम मैदानमा उत्रिएका छन् । उनका मुख्य प्रतिस्पर्धीका रूपमा एमालेका जितबहादुर मल्ल उम्मेदवारी दिएका छन् । 


Author

थप समाचार
x