कर्णाली

कर्णालीमा कसले गर्ला सरकारको नेतृत्व ?

लक्ष्मी भण्डारी |
मंसिर १४, २०७९ बुधबार १८:५१ बजे

सुर्खेत - स्पष्ट रुपमा बहुमत पुग्ने देखिएपछि कर्णाली प्रदेशमा फेरि सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिएको छ । प्रत्यक्षतर्फको मतपरिणाम अनुसार बहुमत आउने निश्चित भएसँगै गठबन्धनकै सरकार बन्ने निश्चित देखिएको हो । 

कर्णालीमा प्रत्यक्षतर्फका २४ सिट छन् । जसमध्ये कांग्रेस र माओवादीले ९/९ सिटमा जितेका छन् । प्रदेशतर्फ प्रत्यक्षमा एमालेले पाँच सिट र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्  । ४० सदस्यीय प्रदेशसभामा बहुमत पुग्नको लागि २१ सदस्य हुनुपर्दछ । अब सत्ता गठबन्धनलाई बहुमत पुग्नको लागि तीन सिट आवश्यक पर्छ । जसको लागि समानुपातिकतर्फ बहुमत पुने गरि आउने अनुमान गरिएको छ । 


समानुपातिकमा सत्ता गठबन्धनतर्फ करिब १० सिट आउने अनुमान गरिएको छ । यस हिसाबले सत्ता गठबन्धनकै नेतृत्वमा कर्णाली सरकार बन्ने काँग्रेसका एक नेताले बताए । 
कर्णाली सरकारको नेतृत्वको लागि भने काँग्रेस वा माओवादीबीच हानाथाप हुने भने देखिन्छ । अहिलेसम्म मुख्यमन्त्रीको लागि हालका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः आकाङ्क्षी देखिन्छन् । उनी सकेसम्म दोहोरिने प्रयासमा छन् ।  यही चाहनाले गर्दा उनी पार्टीले प्रतिनिधिसभामा चुनाव लडाउन खोजे पनि प्रदेशसभामै चुनाव लडेका हुन् । 

२०७४ को निर्वाचनमा कर्णालीमा प्रत्यक्षबाट एकमात्र सिट जितेका शाही माओवादी र एकीकृत समाजवादीको समर्थनमा एक वर्षयता मुख्यमन्त्री पदमा छन्  । त्यसैगरी माओवादीबाट दुई जनाको नाम बढी चर्चामा रहेको छ । पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र रुकुम पश्चिमका पूर्वजिसस संयोजक राजकुमार शर्मा प्रमुख दाबेदारको रुपमा देखिन्छन् । यस्तै एमालेबाट स्थायी कमिटी सदस्य यामलाल कँडेल मुख्यमन्त्रीको बलियो दावेदारका रुपमा मानिन्छन् । 

अघिल्लो कार्यकालमा अन्तिम समयसम्म मुख्यमन्त्रीको प्रयास गरेका कँडेल सफल हुन सकेनन् । यसपालिको निर्वाचनमा पनि उनी मुख्यमन्त्रीको आकाक्षांसहित प्रदेशको चुनावमा लडेका हुन् । 
 


Author

थप समाचार
x