कर्णाली

सिमिकोटमा रैथाने बाली र अर्गानिक उत्पादनलाई प्राथमिकता

इकागज |
असार १०, २०८० आइतबार ११:२२ बजे

सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिकाले रैथाने बाली र अर्गाानिक उत्पादनलाई प्राथमिकता दिने भएको छ । 

जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षबाट ‘एक गाउँ एक विशेष उत्पादन’ कार्यक्रम लागू गर्ने भएको छ ।सातौँ गाउँ सभामा गाउँपालिकाले पेस गरेको नीति तथा कार्यक्रममा छरिएर कृषि क्षेत्र विकास गर्नुभन्दा पकेट क्षेत्रको विकास गर्दै त्यो कार्यक्रम कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको हो । 


गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धेरै सम्भावना भएको कृषि क्षेत्रको विकासका लागि एक गाउँ एक विशेष उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । 

‘रैथाने बाली, अर्गानिक उत्पादनलाई प्राथमिकता दिइनेछ’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले भने, ‘स्थानीय उत्पादनमा विषादीको निशेष गर्नुका साथै आधुनिक कृषि प्रणालीको व्यवस्था गरिनेछ ।’  त्यसैगरी एक गाउँ एक उत्पादन तथा उत्पादन पकेट क्षेत्र घोषणा गरिने भण्डारीले जनाए ।

आगामी आर्थिक वर्षको नीति तथा  कार्यक्रम अन्तर्गत पकेट क्षेत्रको विकासका लागि कृषक समूह, सहकारी र नीति क्षेत्रलाई परिचालन गर्ने नीति गाउँपालिकाले लिएको छ । विशेष गरी यस वर्षबाट सिमकोट गाउँपालिकाबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थानीय रैथाने बाली चिनो, फापर, कागुनो र सिमी खरिद गरेर लिन सुरु गरेपछि गाउँपालिकाले यो कार्यक्रमलाई प्राथमिकतामा राखिएको अध्यक्ष भण्डारीको भनाई छ । यस्तै स्वास्थ्य सेवालाई प्रभावकारी बनाइनुका साथै स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको पहुँचमा बनाइने उनले जनाए ।


Author

थप समाचार
x