कर्णाली

वीरेन्द्रनगरको नीति कार्यक्रम : हेलो मेयरदेखि बुवाआमासँग सञ्चोबिसन्चो

इकागज |
असार १०, २०८० आइतबार १७:६ बजे

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिकाका रूपमा विकास गर्नका लागि आगामी आर्थिक वर्षमा आवश्यक पूर्वाधार निर्माण गर्ने जनाइएको छ । जसका लागि आवश्यक पर्ने राजश्व संकलनको लक्ष्य लिइएको नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । नगरपालिकाको १३ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर ढकालले यस्तो बताएकी हुन् ।

नगरपालिकाले आगामी वर्षबाट 'हेलो मेयर' कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका नागरिकहरूको गुनासो तथा सेवा सम्बन्धी जिज्ञासा सुन्नुका साथै समस्या सम्बोधन गर्न हेलो मेयर कार्यक्रम सञ्चालन गरिने भएको छ । जसका लागि नगरपालिकामा टोल फ्री नम्बर सञ्चालन गरिनेछ ।


त्यसैगरी जेष्ठ नागरिकलाई प्रत्येक वडामा सरकारी तथा निजी अस्पतालसँगको सहकार्यमा बुवाआमासँग सन्चो बिसन्चोका लागि भेटघाट कार्यक्रम सञ्चालन गरिने भएको छ ।  ‘यसका लागि जेष्ठ नागरिकहरूको सुगर तथा प्रेसरको निःशुल्क चेक जाँच स्वास्थ्य शिविरको व्यवस्था गर्नेछौं,’ नगरप्रमुख ढकालले भनिन्, ‘जसका लागि पालिकाबाट जनशक्ति परिचालन गरिनेछ ।’

हामी र हाम्रो वीरेन्द्रनगर नामको स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नका लागि कक्षा ८ सम्म पाठ्यपुस्तक निर्माण गरी लागू गर्ने कार्यलाई प्राथमिकतामा राखिने नगरप्रमुख ढकालले बताइन् ।

नगरपालिकाले बालविवाह र बालश्रम मुक्त नगर घोषणा गर्दै नगरलाई बालमैत्री नगरका रूपमा विकास गर्न नगरका कम्तीमा २५ प्रतिशत वडालाई चालु आवभित्रै बालमैत्री घोषणा गने जनाएको छ । त्यसैगरी बालबालिकाको शिक्षामा सहज पहुँच स्वास्थ्यमा सहज पहुँचसहित शिक्षा स्वास्थ्य र सुरक्षाको सुनिश्चितता गरिनेछ ।
     


Author

थप समाचार
x