कर्णाली

कर्णालीमा पहिलोपटक प्राइड परेड

इकागज |
असार ११, २०८० सोमबार १४:४७ बजे

सुर्खेत- कर्णालीमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पहिलोपटक प्राइड परेड मनाएको छ । यस समुदायले हरेक वर्षको जुन महिनालाई आफ्नो गौरवको महिनाका रूपमा मनाउँदै आएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा भने पहिलोपटक गौरव यात्रा मनाइएको हो । पछिल्लो समय कर्णालीमा रहेका लैङ्गिक अल्पसङ्ख्यक (एलजिबिटिक्युआई) समुदायका व्यक्तिहरू खुल्न थालेपछि कर्णालीमा पहिलोपटक गौरव र्याली गरिएको ब्लू डायमण्ड सोसाइटीले जनाएको छ ।


परियोजनाका पिटी प्रिटरले पछिल्लो समय कर्णालीमा पनि एलजिबिटिक्युआई समुदायहरू खुल्न थालेको बताइन् । प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट र्याली सुरु भइ पिपलचौतारामा पुगेर  सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम सातै प्रदेशमा सम्पन्न गरिएको उनले जनाइन् । ‘यस महिनालाई हामी गौरवको महिनाका रूपमा लिन्छौँ,’ उनले भनिन्, ‘हाम्रो समुदायमा लैंगिक तथा अल्पसंख्यक समुदायका पनि छौ बिस्तारै खुल्न थालेका छौ भनेर जानकारी दिनलाई पनि यो कार्यक्रम गर्न थालेका हौँ ।’

विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरवयात्रा मनाउने गरिन्छ । सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको तामाङले बताइन् । उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण गरी उनीहरूमाथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो ।

यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिएको  उनको भनाइ छ । उनले आफ्नो समुदायमा खुल्न नसकेका एलजिबिटिक्युआई समुदायका व्यक्तिहरूलाई सहज रुपमा खुल्न सक्ने वातावरण बनाइदिनुपर्ने बताउँछिन् ।


Author

थप समाचार
x