कर्णाली

यातायात संगठनविरुद्ध चौकुने गाउँपालिका

इकागज |
साउन २०, २०८० शनिबार १७:१६ बजे

सुर्खेत- पश्चिम सुर्खेतस्थित चौकुने गाउँपालिका यातायात संगठनविरुद्ध आन्दोलनमा उत्रेको छ । गाउँपालिकामा यातायात व्यवसायीले सिन्डिकेट लगाएको भन्दै आन्दोलनमा उत्रेको हो ।

अहिले गाउँपालिकाले पालिकाका नागरिकलाई गन्तव्यसम्ममा पुर्याउनका लागि टिपर सेवा सञ्चालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको संयुक्त यातायात व्यवसायीले चौकुनेमा सिन्डिकेट लगाएपछि पालिकाले उक्त सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।


सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले चौकुनेसम्म गाडीहरू सञ्चालन नगर्दा नागरिकले सास्ती भोगेको भन्दै चौकुने पालिका नै यातायातविरुद्ध उत्रिएको हो । पालिकाले आज शनिबारदेखि निःशुल्क यात्रा सेवाका लागि सञ्चालन गरेको टिपरमा संयुक्त यातायातका ज्यादतीविरुद्धमा चौकुने नारासमेत उल्लेख गरेको छ ।

बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले चौकुनेमा गाडी ल्याउनुको साटो बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिपरमै यात्रा गराउन थालिएको गाउँपालिका अध्यक्ष खड्क विक (विवश)ले जानकारी दिए । ‘यहाँ गाडी आउन छोडेको पनि ४२ दिन भइसक्यो । बाटो पनि राम्रो छ,’ उनले भने, ‘बिग्रेको ठाउँमा हामीले नै बनाइदिन्छु भन्दा पनि यातायातका साथीहरूले वास्ता गर्नुभएन, केही निजी बोलेरोहरूले मनलाग्दी भाडा लुटेका छन् ।’

बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई सास्ती भएपछि पालिकाको टिपरमै निःशुल्क नागरिकहरूलाई सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष बिकले बताए । अब केही समयपछि पालिकाले नै गाडी खरिद गर्नेगरी तयारीमा रहेको उनको भनाइ थियो । टिपरमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उनले बताए ।


Author

थप समाचार
x