कर्णाली

कर्णालीमा खोज र नष्ट गर अभियान प्रभावकारी

इकागज |
साउन २१, २०८० आइतबार १५:४८ बजे

फाइल फोटो

सुर्खेत - प्राय तराईका जिल्लामा हुने डेंगुको संक्रमण पछिल्लो समय कर्णालीका पहाडी जिल्लामा पनि देखिन थालेको छ । कर्णालीका सुर्खेत, कालीकोट, दैलेख, सल्यानमा र रुकुम पश्चिममा डेंगुको संक्रमण देखिने गरेको छ । अघिल्ला वर्षहरूमा संक्रमण फैलिएको डेंगु यस वर्ष भने नियन्त्रणमा आएको स्वास्थ्य अधिकारीहरू बताउँछन् । 

अन्य प्रदेशहरूमा डेंगुबाट बढी प्रभावित भएको भएपनि कर्णालीमा भने यसबाट कम प्रभाव परेको स्वास्थ्य निर्देशनालय सुर्खेतका प्रमुख रविन खड्काले जानकारी दिए । ‘अन्य प्रदेशमा डेंगिबाट प्रभावित भइरहेको बेला कर्णालीमा यसले त्यति प्रभाव परेको छैन’ खड्काले भने, ‘कर्णालीका १० जिल्ला तथा पालिकाहरुबाट यसको तथ्यांक संकलन गर्दै छौ । अहिलेसम्म यसबाट खासै प्रभावित भएको पाइएको छैन ।’ 


लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यस वर्ष नियन्त्रणमा आएको स्वास्थ्य निर्देशनालयका श्यामलाल आचार्यले जानकारी दिए । गत वर्ष प्रदेशका १० जिल्लामा एक हजार चार सय डेंगिबाट प्रभावित भएको आचार्यले जनाए । हालसम्म डेंगिबाट कर्णालीमा एक जनाको मात्र मृत्यु भएको निर्देशनालयको तथ्यांक छ । 

कर्णालीमा डेंगु नियन्त्रणको लागि गत वर्ष देखि चलाएको खोज र नष्ट गर अभियानपछि यसबाट सकारात्मक प्रभाव परेको आचार्यले बताए । उक्त अभियान अन्तर्गत पालिकाहरुसँग समन्वय गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो । लामखुट्टेका लार्भा खोज र नष्ट गर भन्ने अभियान चलाइएको आचार्यले बताए । 

कर्णालीका १० जिल्लामध्ये डेंगुबाट बढी प्रभावित हुने जिल्लामा सुर्खेत पर्दछ । तर, सुर्खेतमा पनि यस वर्ष खासै संक्रमित नदेखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रमुख गणेशभक्त गौतमका अनुसार सुर्खेतमा अहिलेसम्म १० जना मात्र डेंगिबाट प्रभावित भएका छन् । विगतका वर्षहरूमा एउटै वडामा ३५ जनासम्म संक्रमण देखिएको भएपनि यस वर्ष भने जिल्लाभर १० जना मात्र संक्रमित देखिएको जनस्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ । जिल्लामा सञ्चालन गरिएको अभियानको कारण नै यस वर्ष डेंगिबाट संक्रमित हुनेको संख्या कम भएको गौतमले बताए । 

नेपालमा सन् २००६ मा बाँकेमा यो रोग देखिएको थियो । डब्लु एचओका अनुसार बर्सेनि विश्वमा करिब ६ करोड व्यक्ति डेंगु रोगबाट संक्रमित हुन्छन् भने दुई अर्ब ५० करोड व्यक्ति जोखिममा छन् । २०१० मा नेपालमा यसले माहामारीको रुप लिएको थियो, जसमा एक सय १७ जना बिरामीमा पाँच जनाको मृत्यु भएको थियो । यो रोग लाग्दा एक्कासि ज्वरो आउने, टाउको, ढाड, जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, रक्तचाप घट्ने, नाक, कान, गिजाबाट रगत आउने जस्ता लक्षण देखापर्ने गर्दछ । 


Author

थप समाचार
x