कर्णाली

लुम्बिनीमा रहेका प्रहरी संरचना कर्णाली सारिँदै

लक्ष्मी भण्डारी |
साउन २८, २०८० आइतबार १६:२३ बजे

सुर्खेत- कर्णाली प्रदेश प्रहरी कार्यालय मातहत रहेका कार्यालयलाई सुर्खेतका विभिन्न स्थानमा सार्ने तयारी थालिएको छ । हाल लुम्बिनी प्रदेशबाट सञ्चालनमा रहेको कर्णाली मातहतको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र र विशेष सुरक्षा गण, केनाईन शाखा लगायतलाई कर्णाली प्रदेश प्रहरी कार्यालय स्वामित्वमा रहने जग्गामा स्थानान्तरण गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी तालिम केन्द्रलाई सुर्खेतको पञ्चपुरी नगरपालिकामा स्थानान्तरण गरिने भएको छ । पञ्चपुरी नगरपालिका–८, दुलालथाईमा प्रहरी तालिम केन्द्रका लागि २३ विगाह जग्गा उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय, काठमाडौँले गृह मन्त्रालयमा फाइल पेस गरिसकेको छ । यस्तै वडादेखि पालिकासम्मको सिफारिस समेत पेस भइसकेको छ ।


मन्त्रिपरिषद्को स्वीकृति भएपछि प्रहरी तालिम केन्द्र लुम्बिनीबाट सारेर पञ्चपुरी नगरपालिकाबाटै सञ्चालन हुने कर्णाली प्रदेश प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

‘लुम्बिनी प्रदेशमा रहेका प्रदेश प्रहरीका संरचनाहरू कर्णालीमा सार्ने तयारी भइरहेको छ,’ ढकालले भने, ‘यसका लागि हामीले गर्ने तयारीहरू अगाडि बढाएका छौं ।’ कर्णालीमा तालिम केन्द्र स्थानान्तरणका लागि वडा तहबाटै प्रक्रिया सुरु गरी गृह मन्त्रालयमा जग्गा प्राप्तिका लागि फाइल पुगेको ढकालले जानकारी दिए ।

यसैगरी हाल लुम्बिनी प्रदेशमै रहेको प्रहरीको विशेष सुरक्षा गण समेत गुर्भाकोट नगरपालिकामा स्थानान्तरण हुने भएको छ । गणका लागि जग्गा प्राप्तिको प्रक्रिया भने टुंगिसकेको छ । गत असार २६ गते संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयले विशेष सुरक्षा गणको स्वामित्वमा चार दशमलव पाँच विगाह जग्गा दिने निर्णय समेत गरिसकेको छ ।

भवन लगायतका पूर्वाधार निर्माण र मर्मत कार्यका लागि आवश्यक बजेट लागत अनुमानसहित कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पेस गरिएको प्रहरी नायव महानिरीक्षक ढकालले बताए । गुर्भाकोट नगरपालिकाको १३ र १४ नं. वडामा (गुमी गाउँ क्षेत्र) जग्गा प्राप्ति भएसँगै उक्त स्थानमा पूर्वाधार निर्माणका लागि अहिले कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेश सरकारसँग सहयोग मागेको छ ।


Author

थप समाचार
x