कर्णाली

समाजवादी मोर्चाको ‘सन्देश सभा’

प्रचण्डसहित समाजवादी मोर्चाका नेता सुर्खेत आउँदै

इकागज |
भदौ १२, २०८० मंगलबार १४:१९ बजे

सुर्खेत- भदौ १४ गते सुर्खेतमा आयोजना हुन लागेको सन्देश सभाका लागि तयारी तीव्र पारिएको छ । कार्यक्रमको व्यवस्थापनकाे सबै तयारीहरू पूरा पारिएको जनाइएकाे छ ।

उक्त कार्यक्रममा सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित समाजवादी मोर्चाका शीर्ष नेताहरू सुर्खेत आउने भएका छन् । प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि सुर्खेत आउने भएका हुन् ।


उक्त कार्यक्रमको तयारी पूरा भएको माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले जानकारी दिइन् । उनका अनुसार कार्यक्रमको आयोजना वीरेन्द्रनगरस्थित सिटी हलमा गरिने छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको उद्देश्य रहेको केसीले बताइन् ।

समाजवादी मोर्चाको उद्देश्य लगायतका विषयमा जानकारी दिनु नै कार्यक्रमको उद्देश्य रहेको केसीको भनाइ छ । १४ गते दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुने र प्रधानमन्त्री प्रचण्डसहितका शीर्ष नेताहरू सोही दिन सभालाई सम्बोधन गरेर काठमाडौँ फर्किने छन् । 


Author

थप समाचार
x