कर्णाली

जहाज रोकिँदा नाबालक मृत्यु प्रकरण : अदालतद्वारा कारण देखाऊ आदेश

इकागज |
भदौ २०, २०८० बुधबार १५:५४ बजे

सुर्खेत । जहाज रोकिँदा कर्णालीमा नाबालकको ज्यान गएको भन्दै परेको रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । हिमाली क्षेत्रका विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने निर्णयले हुम्लामा नाबालकले ज्यान गुमाउनु परेको भन्दै उच्च अदालत पाटनमा रिट परेको थियो । अधिवक्ता गणेशबहादुर ओलीले दायर गरेको रिटमा मंगलवार प्रारम्भिक सुनुवाइ गर्दै अदालतले १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो ।

अधिवक्ता ओलीले आइतबार पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल नागरिक प्राधिकरण र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । प्राधिकरणको निर्णयको कारण हुम्लामा उडान हुन नपाई ६ महिने बालक इमरान सुनारको ज्यान गएको भन्दै निर्णयकर्तालाई कारबाहीको माग गर्दै रिट दायर गरेका हुन् । 


अधिवक्ता वलीले मृतक नाबालकको परिवारलाई क्षतिपूर्तिको लागि आदेश दिनसमेत माग गरेका थिए । उक्त मुद्दाको पेशी न्यायाधीश दुर्गबहादुर विश्वकर्माको इजलासमा परेको थियो । निवेदकको तर्फबाट अधिवक्ता वलीका साथै अधिवक्ताहरू धर्मराज रेग्मी, लोकेन्द्र ओली र शिवराज रिमालले बहस गरेका थिए । ‘मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ को हकमा उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत तथा विपक्षी नं. २ र ३ को हकमा आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नुहोला,’ आदेशमा भनिएको छ । रिटमा विपक्षी नं. १ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विपक्षी नं. २ नेपाल नागरिक उड्डयन प्राधिकरण र विपक्षी नं. ३ प्राधिकरणका महानिर्देशक अधिकारीलाई उल्लेख गरिएको छ । आदेशमा अन्तरिम छलफलका लागि आगामी भदौ २५ गते पेशी तोकिएको अधिवक्ता वलीले बताए ।  

प्राधिकरणले साउन १२ गते देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने लगायतका पाँच बुँदे निर्णय गरेको थियो । अधिवक्ता वलीले हचुवाको आधारमा गरिएको निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका ६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको रिटमा उल्लेख गरेका थिए । 


Author

थप समाचार
x