कर्णाली

कर्णालीमा छिट्टै नै निजामती विधेयक ल्याइन्छ : मन्त्री सिंह

इकागज |
भदौ २२, २०८० शुक्रबार १४:२७ बजे

सुर्खेत- कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेश निजामती विधेयक छिट्टै ल्याइने बताएका छन् । उनले विधेयकमा कर्मचारीको हित, क्षमता अभिवृद्धि, वृत्ति विकास लगायत कुरामा प्रगतिशील व्यवस्था गरिएको बताएका छन् ।

२०औं निजामती सेवा दिवस २०८० का अवसरमा शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले प्रदेश निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित भई सदनमा टेबुल भइसकेको र छिट्टै सदनबाट पारित भएर ऐनका रूप लिने विश्वास समेत व्यक्त गरे ।


मन्त्री सिंहले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च भए मात्र जनमुखी सेवा प्रवाह हुने बताएका छन् । कर्मचारीहरूको मनोबल उच्च नभई जनमुखी सेवा प्रवाह हुन नसक्ने अवस्था रहेको मन्त्री सिंहले बताए । ‘कर्मचारीहरूलाई राजनीतिक आग्रह र पूर्वाग्रहले व्यवहार गर्नु हुँदैन । त्यसरी हेरिनु हुँदैन । कर्मचारीहरूले पनि सेवा प्रवाहमा राजनीतिक आग्रह–पूर्वाग्रह राख्नु हुँदैन,’ मन्त्री सिंहले भने, ‘कुनै दलप्रति आस्था राख्न पाउने उहाँहरूको ट्रेड युनियन अधिकार हो । तर, कर्मचारीको मनोबल उच्च नभई जनमुखी सेवा प्रवाह हुँदैन भन्ने हाम्रो बुझाई छ । प्रदेश सरकार कर्मचारीहरूलाई उच्च मनोबलका साथ काममा लाग्ने वातावरण बनाउने तर्फ लागिरहेको छ ।’

मन्त्री सिंहले आजको दिनले कर्मचारीहरूलाई पेसाप्रति प्रतिबद्ध बन्न, सेवा प्रवाहलाई प्रभावकारी र जनतामैत्री बनाउन प्रेरणा मिल्ने आफूले विश्वास लिएको बताए । उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पनि कर्मचारीहरूलाई निर्देशन दिए । सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्ने मन्त्री सिंहको भनाइ छ ।

‘आजका नागरिक सरल सेवा चाहन्छन् । झन्झटमुक्त सेवा चाहन्छन् । सुशासन र पारदर्शिता चाहन्छन्,’ उनले भने, ‘भ्रष्टाचारमुक्त समाज चाहन्छन् । आजका नागरिक सरल व्यवहार र चुस्त सेवा चाहन्छन् । यसतर्फ तपाईं–हामी सबैले ध्यान दिन जरुरी छ ।’

सरकार र जनताको भेट गराउने पुल भनेको निजामती क्षेत्र नै भएकाले यसलाई व्यवस्थित, समुन्नत र चुस्त बनाउन सबै सरोकारवाला लाग्नुपर्ने मन्त्री सिंहको भनाइ थियो । मन्त्री सिंहले सरकारी सेवा प्रवाह र राजनीतिक व्यवस्थाप्रति जनतामा देखिएको निराशा अन्त्य गर्न पनि कर्मचारीहरू अत्यन्तै लगनशील र जिम्मेवार भएर लाग्नुपर्ने औंल्याए ।


Author

थप समाचार
x