कर्णाली

बढ्दै आत्महत्याका घटना :

कर्णालीमा गरिबी र हिंसाले लिन्छ वर्षेनी दुई सय बढीको ज्यान

लक्ष्मी भण्डारी |
कात्तिक १६, २०८० बिहीबार १३:२३ बजे

सुर्खेत- दुई वर्षअघि दैलेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीय सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालिन् । मदिरा खाएर आउने श्रीमान्‌को हिंसा सहन नसकेपछि कर्णालीमा हाम फाल्न बाध्य भएकी हुन् ।

सुकीको शव भेटिएपछि जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरिएको थियो । जसमा उनको पेटमा चार महिनाको भ्रुण रहेको खुलेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आत्महत्याको कारण श्रीमान्‌ले दिइरहने यातना र हिंसा रहेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले सुकीका श्रीमान्‌ प्रहरी हिरासतमा छन् ।


यस्तै दुई वर्षअघि सुर्खेतको वीरेन्द्रनगरकी २५ वर्षीय महिलाले पनि आत्महत्या गरिन् । उनको आत्महत्याको कारण पनि श्रीमान्‌ र घरपरिवारबाट पाएको हिंसा थियो । भागी विवाह गरेकी उनलाई माइती पक्ष कमजोर देखाउँदै घरपरिवारबाट गालीगलौजहरू गर्दै आएका थिए । माइती र घर दुवैबाट सहयोग नपाएपछि उनले आत्महत्याको बाटो रोज्‍न पुगिन् । 

गत वर्ष पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा २५ वर्षीय एक युवतीले आत्महत्या गरिन् । भारतबाट घरमा फर्किएकी उनी आत्महत्याको बाटो रोजिन् । गाउँमा ऋण तिर्न भारत गएकी उनी रित्तो हात घरमा फर्कनुको पीडा थियो । गरिबीको कारण उनी आत्महत्या गर्न बाध्य भएको उनका आफन्तहरूले बताए । 

गरिबी र हिंसाका कारण आत्महत्या गर्न बाध्य भएका यी त प्रतिनिधिमुलक घटना मात्रै हुन् । कर्णाली प्रदेशभर पछिल्लो चार वर्षमा एक हजार बढीले आत्महत्या गरेका छन् । 

प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा दुई सय ७४ जनाले आत्महत्या गरेको पाइएको छ । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी एक सय ९, दैलेखमा ४४ जना, सल्यानमा ४५ जना, रुकुम पश्चिममा २८, जाजरकोटमा १९, कालिकोट १२ र जुम्लामा ६ मुगुमा ६ र हुम्ला ४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक रहेको छ । तथ्याङ्क अनुसार  सुर्खेतमा ९२,सल्यानमा ५१, दैलेखमा ३७, जाजरकोटमा २०, रुकुममा २२,जुम्लामा १३, कालिकोटमा ९, मुगुमा तीन र हुम्लामा दुई जनाले आत्महत्या गरेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार  आर्थिक वर्ष २०७७/०७८ मा कर्णालीका २ सय ४९ जनाले आत्महत्या गरेका छन् । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ८६ जनाले आत्महत्या गरेका छन् । यस्तै २०७५/०७६ मा २ सय ५५ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यान र सुर्खेत आत्महत्याका घटना बढी भएको तथ्यांकमा उल्लेख छ । 

कर्णालीको सन्दर्भमा अधिंकाश अपराधका घटनाहरूमध्ये आत्महत्याका घटना बढी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । विशेषगरी कर्णालीमा गरिबी र हिंसाले गर्दा नै ज्यान जाने गरेको तथ्यांक रहेको छ ।  

‘प्रहरी तथ्याङ्क अनुसार कर्णालीमा बढ्दो आत्महत्याको कारण गरिबी र घरेलु हिंसा देखिएको छ’ डिआइजी भीम ढकालले इकागजसँग भने, ‘यसमा विभिन्न तनावको कारणले गर्दा डिप्रेसन हुने र आत्महत्याको बाटो रोज्ने गर्छन् ।'

प्रविधिको दुरुपयोगबाट बढ्ने मानसिक तनाव, अशिक्षा र लागूऔषध पनि आत्महत्याको कारण देखिएको  मानवअधिकारकर्मी किमसरा खत्रीको भनाई छ । आत्महत्या रोकथामका लागि हिंसालाई कम गर्न उच्च मनोबल वृद्धि हुने, जीवन उपयोगी सिपहरू, मनोसामाजिक ज्ञान र जनचेतनामा जोड दिनुपर्ने अधिकारकर्मी खत्रीको भनाई छ । 

प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीका अनुसार पछिल्लो समय आत्महत्याका घटनाहरू बढेको भन्दै यसको रोकथाममा सबै लाग्नुपर्ने बताउँछन् । ‘धेरैजसो घटनाहरू डिप्रेसनका कारण हुन्छन्’ उनी भन्छन्, ‘त्यसकारण डिप्रेसनमा गएका व्यक्तिहरूलाई परिवारबाट माया ममता दिएमा पनि केही हदसम्म यस्ता घटनाहरूलाई रोकथाम गर्न सकिन्छ ।’


Author

थप समाचार
x