कर्णाली

बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक ११ कक्षाको पढाइ

इकागज |
पुस २, २०८० सोमबार १०:५४ बजे

फाइल तस्बिर

नेपालगञ्ज - बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान संकायको पढाइ थालिएको हो । 

विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार १३ विद्यार्थी भर्ना भए पनि आठ जना मात्र नियमितरुपमा अध्ययन गरिरहेका छन् । पठनपाठनका लागि तीन शिक्षकको व्यवस्था गरिएको उनले बताए । १३ विद्यार्थीमध्ये ६ जना छात्रा छन् । 


“हामीले धेरै वर्षदेखि कक्षा ११ को पठनपाठनका लागि प्रयास गर्‍यौँ तर अहिले बल्ल सफल भएका छौँ”, प्रधानाध्यापक आर्चायले भने । जानकी गाउँपालिकाको अनुदानमा सो कक्षा सञ्चालन भएको हो । दरबन्दी भएका शिक्षकलाई मासिक रु ४० हजार तलब दिने गरिएको छ । चार सयको हाराहारीमा विद्यार्थी रहेको सो विद्यालयमा माध्यमिक तहमा पाँच तथा निम्न माध्यमिक तहमा तीन शिक्षकको दरबन्दी रहेको छ । 

जानकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारीले यस शैक्षिकसत्रदेखि ११ कक्षा सुरु गरिएकोे र अर्को वर्षदेखि १२ कक्षा सुरु भएपछि विद्यार्थी सङ्ख्या बढ्दै जाने बताए । गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु भएको पहिलो पटक हो । मदरसा र गुरुकुल विद्यालयसहित ३९ विद्यालय रहेको सो पालिकामा १४ मदरसा, एउटा गुरुकुल र छ संस्थागत विद्यालय रहेका छन् । 
रासस


Author

थप समाचार
x